साप्ताहिक सिर्जना (अंक-१) :कविता "पर्दाभित्र पर्दा बाहिर"

कविता
पर्दा भित्र पर्दा बाहिर

जीवन यँहा आज
समयको पारदर्शी पर्दाको चौघेरोमा
अंश बण्डा भएको छ
पर्दा भित्र, पर्दा बाहिर।

समय संगीन तरवार लिएर
समुद्र वारी समुद्र पारी,
क्षितिज वारी क्षितिज पारी,
मानवीय सभ्यताको
चौकिदारीमा फेरी लगाऊदै छ।

त्रासादीको भँगालोमा भास्सिएको
सभ्यताको पर्दा भित्र
बाँच्ने जिजीवीषा सम्हालेर
जीवन
कहरको चक्रव्युहमा निसास्सिदा
उन्मुक्तिको मलिन आशामा
सहास र धैर्यताको कसीमा घोटिएर
जिन्दगीको परीक्षामा सँघर्षशील छ।

यहाँ,
चारै तिर कोलहाल छ
फरक फरक कोलाहल।
पर्दा भित्र पर्दा बाहिर ।

पर्दा बाहिर जीवन छ
इर्ष्या र द्वेष छ।
व्याभिचार र आडम्बर छ।
दम्भ र लालचा छ।
कहर छ, सपना छ।
सद्भाव र समर्पण पनि छ।

अनि पर्दा भित्र
अकिंचन हात र निरीह आँखा छ।
रित्तिएको चहाना र भत्किएको मन छ।
ओलाउदै गएको आत्मावल र
खण्डिकृत सहास छ।
विलाउदै गरेको जीवनमा
पुनर्जागारणको कहानी छ।


यो प्रविधी र प्रकृतिको भिडण्त बीच
पर्दा भित्र, पर्दा बाहिर
जिन्दगीहरू स्व-अस्तित्वको जगेर्नाको
लागि सँघर्षको अनन्त यात्रामा
समाहीत छन् समाहीत छन्।।

मोहन कृष्ण श्रेष्ठ
भ्यान्कुभर, क्यानाडा, सेप्टेम्बर ५, २०२०