साप्ताहिक सिर्जना (अंक-३) :कविता “सपनीका आयामहरू”

Dr. Madhu Madhurya

“You see things;
and you say, ‘Why?'
But I dream things that never were;
and I say, ‘Why not?'”
– George Bernard Shaw

कविता
सपनीका आयामहरू

एक किसिमको सपना हुन्छ
जो मानिस देख्न चाहन्छ तर नदेखिन पनि सक्छ
जीवनमा अर्कोथरि सपना हुन्छ
जो नचाहेर पनि हेर्नुपर्ने हुन्छ

रातो घेरामा बन्द छन्
डिसेम्बर २०, २०२० र जनवरी ६, २०२१
क्यालेन्डरका २ दिन
र अरु पानाहरु फर्फर पल्टिरहेका छन् ...

हवाईजहाज बिनै ठाउँ-ठाउँमा उडिरहेको हुन्छु
संसारको बिभिन्न शहरहरुमा गुडिरहेको हुन्छु
के वालक, के युवा, के वृद्ध ?
पृथ्वीका मानिसहरु आँखाले नदेखिने
"काउसोको डल्ला"सँग खेलिरहेका हुन्छन्
कतै रुवाबासी र आर्तनाद छ
कतै सन्त्रास र मृत्युको शंखघोष छ
"बचाऊ बचाऊ को अनवरत आवाजमा
घडिको सुईको प्रत्येक टिकटिकसँगै
अर्ध-विश्वासको सुई कुरिरहेका छन् मान्छेहरु

गुटुमुटु बेर्हिएर समय र स्पेस
अनवरत बदलिरहन्छन् भद्रगोल दृश्यहरु:

एकातिर
संग्राम र शान्तिको लघु-अभ्यास गर्दै
प्रजातान्त्रिक स्वतन्त्रताको विश्वकेन्द्र 'क्यापिटोल हल' मा
तनावग्रस्त मानिसहरु
अब्राहम ळिङ्कनको स्मरण गर्दै
अहोरात्र
प्रजातन्त्रको परिभाषा खोजिरहेका छन्
राष्ट्रको सुरक्षा खोजिरहेका छन्
कर्तव्य हराएको जंगलमा
अधिकार खोजिरहेका छन्

अर्कोतिर
बालुवाटारको एक इशारामा
सांसद-भवन खाली भएको छ
सरकार र पार्टी सबको गाली भएको छ
मार्क्स, लेनिन र माओलाई समाजवाद पढाउने
क्रान्तिकारी पण्डितहरु
सोधिरहेका छन् -
कहाँनिर छ आफ्नै संबिधानमा
लोकतन्त्र, गणतन्त्र र प्रजातन्त्रको परिभाषा?
इमानको विधानमा कहाँनिर छ
फुट र जुटको रहस्य ?
र सगरमाथाको फेदीमा मानिसहरु तर्सिरहेका छन्
श्री ३ , श्री ५ र लेन्डुपहरुको छायाँ देखेर !
यो सब निष्टको हो कि अनिष्टको संकेत ?
ज्योतिषीहरु देशको कुण्डली हेरिरहेका छन्

देखिरहेछु:
मानिसहरु -
जीवनदेखि टाढा-टाढा दौडिरहेका छन् / भागिरहेका छन्
परलोकको आशा बाँडेर यस लोकमा पैसाको खेती गर्न पल्केको "धर्म"
टुटाई रहेछ आत्मा र परमात्माको सम्बन्ध
जातको आगलागीमा खरानी बनिरहेछ मानिस मानिसबिचको सम्बन्ध
राजनीतिले फुटाइरहेछ मानिस मानिसबिचको सम्बन्ध
मेरो र तिम्रोको लुछाचुँडीमा -
अनुहारै नचिनिने गरी क्षत-विक्षत छ भूगोल !

गाउँको एउटा कुनामा साइँल्दाइ
चौतारीमा दाउराको भारी बिसाएर
नागबेली बगिरहेको तामाकोसीको हरियो दृश्यमा आँखा फिंजाउँदै
एक झोक्का शितल हावाको झापटहरु शरीरभरी थाप्दै
फिस्स मुस्कान प्रक्षेपण गर्छ आकाशतिर
बनचरीको गीतमा जीवनको प्रीत पाउँछ उसले
हिउँदमा जमेका पसीनाका थोपामा हिराको चमक देख्छ उसले
उसलाई के थाह ?
- प्रजातन्त्र पढाउने अमेरिका प्रजातन्त्र पढिरहेछ
- 'छक्कापन्जा' नेपालको गणतन्त्र - कर्कलाको पानी
- सगरमाथाको टुप्पोमा खस्दैछ सिक्दरको आदिम नाम
- विश्वरंगमंचको नाङ्गो नाटक र यावत् परिपंचहरु
- मलेशियाको यात्रुवाहक बोइङ्ग छ्म्ल्यांग खस्छ समुद्रमा
- एउटै व्यक्ति सर्वेसर्वा छ बीस वर्षदेखि रुसमा
समयको पाइताला चाल्दै उकालो स्पेस लाग्छन् साइँल्दाइ
र एक्लो बन्छ नव-बटुवा कुरिरहेको रित्तो चौतारी ...

बिसाएर आफ्नै अस्तित्व धरतीमा
लमतन्न छु
जे जे देखेँ त्यो विपना नहोस भन्छु
म हरहमेशा निद्रामा छु
र त एउटै समयमा म सबैतिर छु
देशमा छु म विदेश / परदेशमा छु
सबथोक देखेर / भोगेर निकै दुखेको छु
कस्तो होला विपना झन् के थाह ?
मस्त निद्रामा छु

सपनीमा छु !

-मधु माधुर्य
अभयपुर, दोलखा
हाल: अमेरिका