साप्ताहिक सिर्जना (अंक-११ ) :कविता "फेरिएको मौसम”- धडकन शर्मा

कविता

"फेरिएको मौसम”

क्षितिजले बिहान
मनको ढोका उघारेको बेला
चराहरुले गीत गाउन छाडेका छन्
सुनौला घाम चम्किदैन अचेल
त्यस्तै सूर्यमुखी फूल पनि
फूल्न मान्दैनन्

हरेक दिन
मनको चौतारीमा
भलाकुसारी पोख्न आउने
आत्मिय स्पर्शहरु पनि
व्यस्तताका कुहिरोभित्र
हराउन थालेका छन्

पल पलमा फुल्ने
सम्झनाका सुन्दर फूलपनि
हाँस्न मान्दिनन् खुसी भएर
किन ?
उजाड क्याकटसहरु झाँगिन्छन्
मनको गमलामा

अचेल उत्तरविहिन प्रश्नको
आँधी चल्छन् मनमा
निरन्तर पहिरो खस्छन् मुटुमा
तिर्मिराउँछन् चट्याङ नजरमा
फेरिएको मौसमको अचम्मित हुने
रंगरोगन देखेर

मौसम फेरिन्छ, स्वाभाविक छ
तर मन पनि किन फेरिन्छ
आत्मियता किन विरानो हुन्छ
लाल सागरको छाल किन
चुपचाप
स्पन्दनको संगीत किन कर्कश ध्वनीमा बदलिन्छ
फेरिएको मौसम सँगसँगै ?

- धडकन शर्मा
मैतिदेवी, काठमाडौ
हाल : इजरायल