साप्ताहिक सिर्जना (अंक-१२ ) :कविता "नारी सुरक्षा र ऐन खोजिरहेछु”- लिला सेलिङ माबो

कविता

नारी सुरक्षा र ऐन खोजिरहेछु

मेरो देशको मुलुकी ऐन जसले
तोकेको छ पशु-करणीको सजाय
ठूलै अपराध ठहर गरि
१ वर्ष २ वर्ष कैद
अनि १० हजार र २०हजार जरिवाना !

तर मेरै देशका निर्मलाहरु
जसको करणी मात्रै हैन
विभत्स हत्या हुन्छ
पाउँदैनन न्याय किनकी
मानौं उनी पशु हुन् मान्छे हैनन्
दरिद्र मानसिकताको सरकार!
पशुलाई मान्छे मान्छेलाई पशु देख्छ।

बलत्कारी पालेर
लोकतान्त्रिक समावेशीको
बहानाभित्र नारीलाई धातु सरह
पुरुषत्वको प्रयोग सालामा कहिले सम्म राख्छौ सरकार?

नारकीय अपराधीले पनि
क्षणमै मुक्ति पाउने तिम्रो ऐनमा
निर्मलाहरुले न्याय पाउने दफा छ कि छैन?
छौपडी गोठको के कुरा
क्वारेन्टाइनमा पनि लुटिन्छन् निर्मलाहरु
फरक छ त केवल नाम!
एक पटक मुलुकी ऐन पढेरै भए पनि
भन् सरकार
नारीहरुले मानव सरहको सुरक्षा
कहिले अनि कहाँ पाउने?!

- लिला सेलिङ माबो
बेलायात