साप्ताहिक सिर्जना (अंक-१५) : कविता "घरमा एक्लै”- ईरिना तोक्मातोभा

कविता

'घरमा एक्लै'

म एक्लै रहन्छु
अलिकति पनि म डराउँदिन
झ्याल बाहिर अन्धकार छ।
यसले मलाई केही फरक पार्दैन।
जताततै म बत्ति बाल्छु ।
म बस्छु र चुप लाग्छु।
म झ्यालमा पर्दा लगाउँछु।
आमा र बुबा चलचित्र हेर्न निस्केका छन् ,
केवल म एक मात्र बाँकी छु।
म डराउँदिन।
हुनसक्छ, म भान्छामा जान्छु।
म कुर्सीमा बस्छु।
चियाका लागि केक-रोटी ('कुकी')हरू छन्।
तर खान मन लाग्दैन ... कसैले भित्तामा ढकढक्याउँछ।
टिभी मौन छ।
जबाफमा मैले पनि ढकढक्याउँछु ।
म टिभी खोल्छु
समय चाँडै बितेर जान्छ
"कुनै अपरिचित हामीकहाँ आउँदैन'' - फ्रिजले गुनगुनाउँदै भन्छ।
कसैले भित्तामा ढकढक्याउँछ।
आमा र बुबा चलचित्र हेर्न निस्केका छन्
धेरै, धेरै लामो समयअघि ...

- ईरिना तोक्मातोभा
मस्को , रुस महासंघ
(अनु.: मधु माधुर्य )