साप्ताहिक सिर्जना (अंक-१६) : कविता "वसन्त तिलकामा वसन्त”- मोहन सिटौला

कविता

"वसन्त तिलकामा वसन्त"
(१)
आयो वसन्त नव ज्योति वसुन्धराको
शीताग्नि मत्थर भयो मधु भागमा यो
आयो घुमेर नव वर्ष नवीनताको
सौभाग्यको तिलक लाउँ वसन्तको यो !
(२)
यो अन्तको समय होइन भावनाको
यो सन्तको मधुर याम छ नव्यताको
यो लोकमा सुरभिको छवि भव्यताको
आलोक सूर्य, शशिको छ अहो उज्यालो !
(३)
तयार याम छ यहाँ रविले खुसीले
फर्केर उत्तर तिरै नव पाउ चाले
शीतोष्ण ठिक्क छ यहाँ सम शिष्टताको
यो भव्य, स्वर्णिम दिवा भव-दिव्यताको !
(४)
सारा वनादि रसमस्त छ, भृङ्गराज
घुम्दै वसन्तमय कानन भित्र पस्छ
भन्केर सुङ्छ दिल, भू , नभको पराग
चुम्दै सुगन्ध, सुषमा छ मिठास मस्त !
(५)
यो राग रञ्जन गला र कला लयालु
सुन्दै, सुनाउन भवात्मक भृङ्ग चालु
सङ्गीत गायक चरा र समीर रम्य
मेरो वनान्य मन मन्दिर नै सुरम्य !
(६)
सौन्दर्यको अजयको छ तनाव तारो
सौगन्धको महक मोहन माद सारो
चुम्दो छ पुष्प वनको मनमोहनीको
घुम्दो छ भृङ्ग वनको मनको पियारो !
(७)
नेपाल हो भुवनको मधुभाग भव्य
झम्किन्छ वर्ष नव दृश्य वसन्त साथ
हिमालमा छ रस दुर्लभ दिव्यताको
कस्तो छ मेल अति दुर्लभ यो छटाको
(८)
छाड्नै परेर म जहाँ पनि जाउँ मित्र
छाडिन्न दृश्य, शुभ, सुन्दर यो विचित्र !
बाँड्छू म भाव-भव भव्य छटा यसैको
गोड्रछू म सुन्दर कला कविता दिलैको !
(९)
खोजूँ म के भुवनमा सव थोक पूर्ण ?
रोजूँ म के र नवनी नव अन्य स्वर्ण !
आलोक छर्दछ वसन्त सुसिर्जनाको
सौन्दर्यको तिलक लाउँ वसन्तको यो !
(१0)
सृष्टेश्वरी भुवन रञ्जन आसिकैमा
गुञ्जायमग्न रव मञ्जन भाषिकामा
हो बाग नन्दन निरञ्जन यो धराको
सौभाग्यको तिलक लाउँ वसन्तको यो !

—मोहन सिटौला
संयुक्त राज्य अमेरिका

अप्रिल १४/२०२१
वि.सं. वैशाख ०१ गते २०७८ साल बुधवार