साप्ताहिक सिर्जना (अंक-१९ ) : कविता “एउटा फरक कथा”- नदिया लिबांग

कविता
“एउटा फरक कथा”

जीवनको अप्ठ्यारो मोडमा भेटियौ तिमी
जुन मोडमा मोडिदै छु, अप्ठेरो छ गल्ली
यस्ता अनगिन्ती मोडहरु अझै छन्
अथाह माइल छन्, गन्तव्यमा पुग्न
ती मोडहरुमा मोडिइरहदॉ
गहभरि ऑशु
रातभरको छटपटी र दिनभरीको तिम्रो अभाव
खपिरहनु पर्नेछ म एक्लैले

कहिले लाग्छ
तिमी,
कथैकथाले भरिएको पेटारो हौ
कहिले लाग्छ
तिमी,
सिंगों रंगमंच हौ
थाह छैन तिम्रो कथा कतिले बुझे
तर मैले बुझेको कथा
भोगिरहेको जिन्दगी भन्दा पृथक छ
बिषैविषको कहरबाट बचेको
शान्त, स्निग्ध, सरल
मायालु, लयालु, दयालु ।

सम्बोधन कसरी गरुँ खै ?
अचानकको जम्काभेट्
न परिस्थिति, न परिबन्दको उपज
किन हो घुमिरहन्छौ मेरो मानसपटलमा तिमी
कहिले तिमी मेरो ह्रदयमा बसेको
कहिले मेरो आवाजमा पसेको
अनि कहिले मेरो एकांकीपनको दबाई भएको
मलाई कस्तो मन परेको ।

भिडलाई अरुथोक नै लाग्ला
यो कुन बहादुरी हो र ?
तर संवेदना, संवेदनशीलता र समर्पणसामु
अन्य गौण लाग्दो रहेछ
एउटा फरक कथा
फरक पात्र
त्यो पात्र आफैमा सिनेमा जस्तो
मात्र हेरे पुग्ने
मात्र महसुस गरे हुने ।

~ नदिया लिबांग
न्यूयोर्क