साप्ताहिक सिर्जना (अंक-२०) : कविता "आमा"- भगवती बस्नेत

कविता
"आमा"

गुराँस त्यसैगरी फुलेको छ
जसरी तिम्रो माया
हिमाल जस्तो टल्किरहेछ
आमा तिम्रो माया !

पृथ्वीको त्यो गोलार्धमा तिमी छौ
यता म छु यो मरुभूमिमा
घाम एउटै हो
जून उस्तै हो
बिहान उस्तै,
दिन रात उस्तै
जब सम्झना हुन्छ तिम्रो
छातीभित्रका उकुस मुकुस भावनाले
वाडुली लाग्न थाल्छन्
असमेल !

आँसी खुर्पेटो ढिकी कोदालो
मेलापात बुहार्तन
डोको नाम्लो
सबै छिचोलेर
खपिनसक्ने ममता वर्षाउथ्यौ
कति बिशाल छाति तिम्रो
अविरल बगिरहने तिम्रो माया
मन फाँटेको बेला
च्याप्प समातेर चुप्प म्वाई खाएको
त्यही सम्झनाको उर्जाले
टिकेको छु विशादको
मरूभूमिमा पनि
अविचल !

अहो, यो अद्भूत संसारमा
तिमीजस्तै अरु कोही छैनन्
आमा तिमीले आफूलाई म भित्र पायौ
मलाई जन्माउने तिमी
मैले जन्माएका मेरा सन्ततीसंग
धर्ति र आकाश भएको बेला
तिमीले आफ्ना उत्साह भरिएको
हाँसोले हाँस्न सिकाउँछ
बाँच्ने उत्साह थपिन्छ
निरन्तर !

मातृत्वको महिमा गरिमा वुझ्न
आमा हुनुपर्दोरहेछ
तिमी भएर म भएँ
मेरो शरीरमा तिम्रो रगत
प्रत्येक धडकनमा तिम्रो माया
मेरो सिंगो जीवननै
मात्र तिम्रो छायां
प्रत्येक स्वरमा तिम्रै आवाज
प्रत्येक हेराइमा तिम्रै दृष्टि
हरेक पाइलामा तिम्रै शक्ति
हरेक कार्यमा तिम्रै योगदान
सागरझैँ गहिरो
आकाशभन्दा विशाल
ममत्वको अथाह छहारी
तिम्रो काखरूपी स्वर्ग
तिम्रो आशीर्वादको फूल
महसूस गरिरहूँ !

भगवती बस्नेत
काठमाडौँ, नेपाल