POEM

कविता:
सकाउनै लागिएको देशको
नसकिने कविताहरु ...
- मधु माधुर्य

इतिहास पढ्दा
गर्वले छाती फुल्नु पर्ने हो
रहर / कौतुहलको आँखा खुल्नु पर्ने हो
अतितको क्यानभासमा भविष्यको आनन्द सल्बलाउनु पर्ने हो ...
......

पर्वै-पर्वको रक्तिम र अन्यायहरुको पीत-शृंखला -
थोरै पुर्णे र धेरै औंशीहरुको अभिव्यक्तिजस्तो
'मेरो देशको भयावह इतिहास' पढ्न सक्दिन
चोर र डाकारुपी शासकहरुको हर्कत सम्झंदै
मेरो देशको विभत्स इतिहास लेख्न पनि सक्दिन

अहिले पनि नव-लेन्डुपहरु खुँडा र खड़कुँला लुकाउँदै
"फास्ट ट्रयाक" मा रात कुरेर बसेका छन्
मेरो देशको भयावह वर्तमान सम्झन पनि सक्दिनँ
डरले थरथर काम्दै काम्दै
कसैले लेखेको अक्षरहरुको थुप्रो पढ्न पनि सक्दिनँ
इतिहास
लेख्न पनि सक्दिनँ .!..