कविता : हेर्दा हेर्दै देश देश जस्तो छैन ...

कविता :

हेर्दा हेर्दै देश देश जस्तो छैन ...
- मधु माधुर्य

लाहुरे : यत्रो लक्का जवान
तिमी किन लाहुर नगएको ?
कान्छा: हेरन, के देखिरहेका छौ चारैतिर ?
देश नै परदेश भै सक्यो दाज्यू...
* * *
उत्पीडितहरुको सम्बाद सुनौं
कि देशको गुनासो ?

नेपाल आमा रोएर
अश्रुसागरमा डुबिरहेकी छिन् -

...."नयाँ नेपाल"को घुम्टो ओढाई...
चोक्ट्याउदै छन् मलाइ...
.... गुहार सुनेर यो चक्रब्युहबाट बचाउन ...
को सन्तान तम्सियो आज ? ...
फगत दागबत्ती दिंदै ...
दक्षिण बगाउन आतुर लाम मात्र देखिरहेछु ....
के इतिहासका दृष्टिभ्रम हुन् यी सारा?...
के यसैमा गर्ब गरूँ सन्तान छन् भनेर मेरा ?

यो रोदन सुनेर पनि नसुने झैँ गर्नेहरु
सिंहदरबारमा बसेर
ताज महलको फोटो हेरिरहेका छन्
विपरित / अप्रिय सपना देखेर रमाइरहेका छन् ...