poem by Chandra Gurung

कविता
चन्द्र गुरुङ
·
तिम्रो दुई आँखाको गुँडबाट
उड्दै-उड्दै मेरो क्षीतिजतिर आउने चरीले
मेरो मनको डाँडाकाँडा
चिरबिराउँछ खुशी ।
तिम्रो ओँठमा फुलेको चुम्बन
मेरो गालाको फाँटभरि रंगीन फूल मुस्कुराउँछन्
र, मगमगाउँछ सुवास ।
त्यो स्पर्शको आँधीले
मनको समुद्रमा
मच्चाउँछ लहर-लहर प्रेमिल हलचल ।
र,
तिम्रो बोलीको हवाइजहाज चढेर
पैरासूटमा झुल्दै-झुल्दै मेरो जीवनको देश-प्रदेशमा
आइपुग्छ हर्ष र उल्लास ।
सधैँ सधैँ
तिमी सयमको अँध्यारो गल्ली कुनातिर
आशाको ल्याम्पपोस्ट उभिदिन्छौ
र, म
तिम्रो मायाको उज्यालो पछाडि-पछाडि
हिँडिरहन्छु छाँया जीवन ।