Poem by Dr. Madhu Krishna Shrestha

गद्य कविता

अज्ञात समय

डा. मधु माधुर्य

शव्द वा सूचना
जीवनको एट्रीब्युट बनिसकेपछि
विज्ञापन, सूचना, रेखांकन ...
हरेक कुराहरु शव्दबाटै
नियन्त्रित छन् हिजोआज

नखुर्मुरुन्जेल
वीरताको भूमिकामा

कहालीलाग्दो भीरको बाटो हिंडेर
युग-युगान्तर
समयलाई/ संसारलाई तर्साइरहेका छौं
केही फुटाइरहेका छौं / टुटाइरहेका छौं
कसैको अनुरोधमा
आफैलाई गिराइरहेका छौं

संदिग्ध बिज्ञापन झन् झन् फणा उठाइरहेको छ:
पित्तललाई सुन भनेर झ्याली पिटिरहेछ
हाम्रा यान्त्रिक / दिग्भ्रमित आँखाहरू टोलाइरहेका छन्
कांचलाई हिरा भनेर फलाकिरहेको छ
हाम्रा यान्त्रिक/ भुत्ते कानहरू चुपचाप सुनिरहेका छन्
अब सुनलाई सुन भन्न गाह्रो भो !
अब हिरालाई हिरा भन्न गाह्रो भो !
हाम्रै नेताको भाखामा
विज्ञापनले विश्व-मानचित्रमा
देशलाई अन्तै कतै देखाउने दुस्साहस गरिरहेछ
अब देशलाई देश भन्न पनि गाह्रो भो ?
पन्चामृत र सर्वत सुकाएर
विज्ञापन हामीलाई कोला-विष पिलाइरहेछ
हामी आमाले खुवाएको दूध बिर्सेर रमाइरहेका छौं
स्मृतिको दस्तावेजमा आफैलाई मेट्ने चेस्टा गरिरहेका छौं

जीवन-समापनका शृंखलाहरू छन्
विज्ञापनमा -
रंगीला आकृति / रातहरू छन्
मृत्युका आवाज/ छायाहरू छन्
सेक्स र नशाहरू छन्
कहाँ छन् विज्ञापनमा
फूलको स्पर्श र सुवास?
उर्लेको आस्था र साँचो प्रेमका तरंगहरू ?
देशभक्ति र मानवताका भावनाहरू ?

लौ हेर !
फेरि पनि बिज्ञापनको पर्दामा
आधुनिक भष्माशुरहरू
सल्बलाइरहेका छन्
देश सम्झेर आफ्नै पुर्पुरोमा
कतिखेर हातहरू बिसाउँछन्
थाहा छैन.....
आऊ
टुटेफुटेका हातहरू जोडेर
राम्रो प्रार्थना गरौँ |

=========================