Article : Truth and relative truth (सापेक्षित सत्य, अलिअलि सत्य र ध्रुवसत्य ....)

लेख
========
दर्शन र साहित्य सन्दर्भ :
सापेक्षित सत्य, अलिअलि सत्य र ध्रुवसत्य ....
- मधु माधुर्य

सत्यको परिभाषामा एकरुपता नहुनुको मूल रहस्य खोतल्दा त्यसको कारक तत्व मान्छेमा विद्धमान चेतनाको स्तर र अनुभूतिको गहिराइ नै देखियो |
त्यसैले यसको व्याख्याबारे विभिन्न साधु -सन्त, दार्शनिक, वैज्ञानिक र अन्वेषकहरुको निष्कर्षमा विविधता पाइएको छ |
"सत्य" भन्ने शव्द अध्यात्म विज्ञान, भौतिक विज्ञानमा मात्र होइन बोलीचाली र साहित्यिक क्षेत्रमा समेत प्रयोग हुने गरेको छ | तर "अन्तिम सत्य" को सन्दर्भ निस्के पछि आफुले बुझेको परिधीमा रहेर केहि कुरा प्रकाश जमर्को गरेको छु |

"...साँझ पर्नु अघि
थकित घाम
उ त्यो घर पछाडी
खसेर बिलायो ....
फेरी कसरि हो थाहा छैन -
भोलिपल्ट
हिमालको चुचुरोबाट फुत्त निस्क्यो ...
गतिमा आगमन / प्रत्यागमन
जीवनको नियम रहेछ ..."

विज्ञानले कौतुहलपूर्ण रहस्यको अनुसन्धान गर्छ | साहित्यले मूलत: सौन्दर्यानुभूति अभिव्यक्त गर्छ | अध्यात्मिक विज्ञानले जीवनको केन्द्रविन्दुको साक्षात्कार गर्नेबारे चिन्तन गर्छ,अभ्यास गर्छ | यावत् कुराहरु जीवन र जगतसंग प्रत्यक्ष वा परोक्षरुपमा आवद्ध छन् |

सत्य के हो ? सत्यको दर्शन सम्भव छ वा छैन ? सत्यको खोजी कुन विधाले गर्छ ? कसले गर्छ ? : यी प्रश्नहरु गजबका छन् , रहस्यमय छन् , यसको जवाफ आज म तपाईंहरुबाटै पाउने आसामा फेसबुकमा उपस्थित छु |

"...साँझ पर्नु अघि
थकित घाम
उ त्यो घर पछाडी
खसेर बिलायो ..."
यो सापेक्षित सत्य भयो, किनभने त्यो घर क्षितिजलाई नै छेक्ने गरि उभिएको थियो, त्यो घर नै अवलोकनकर्ताकोलागि अन्तिम पार्श्वदृश्य थियो |
"थकित घाम" - अलि अलि सत्य हुनसक्छ, दिनभरि आकासमा दौडनु पर्दा घाम नथाकोस् पनि कसरि ? - एकक्षण भावुक बनेर कल्पना गर्नुस् |
"गतिमा आगमन / प्रत्यागमन
जीवनको नियम रहेछ" - हरेक कुरा र हरेक कुराको शुक्ष्म संरचना वा अस्तित्व-कण पनि गति मै हुन्छ - यो ध्रुबसत्य हो : जुन कुरा आउँछ त्यो नै जाने हो नी !

अब सोच्नुस्, मनन गर्नुस् : के सत्य पनि अलिअलि सत्य, अलिअलि असत्य (मनतातो जस्तो !) सापेक्षित, अस्थाई वा स्थाई, कटु सत्य, ध्रुवसत्य हुन्छ भनेर व्याख्या गर्न मिल्ला र ? अझ मैले सामाजिक सत्य, ऐतिहासिक सत्य, वैज्ञानिक सत्य, औपचारिक सत्य, न्यायिक सत्य, तार्किक सत्य, वैयेक्तिक वा कथात्मक सत्य, दिव्य सत्य, परम सत्य, आधारभूत सत्य, नास्तिक सत्य, पहिलो सत्य, मध्यम सत्य, अन्तिम सत्य ........आदिको कुरा गरिरहेको छुइनँ |
अन्तिम सत्य छ भने के सत्य भनेको भ्रमहरु कै शृंखला हो ?????
कुनै पनि कुरा कि त सत्य हुन्छ कि त त्यो असत्य वा मिथ्या वा भ्रम ! होइन र ? अनि "अन्तिम सत्य" का सन्दर्भहरु कसरि सार्थक हुन सक्लान् ???
"अन्तिम सत्य" को खोजी चेतनाको अदृश्य "ब्ल्याक-होल" जस्तो हुन्छ कि ? कस्तो हुन्छ होला - धेरै भयो मैले सोचेको, तर मबाट अस्वीकृत छ त्यसको आकार !

क्वान्टम साहित्यको काम / कर्तव्य सत्यको खोजी गर्ने नभई जीवन वा जगतसम्वद्ध अनुभूतिको नूतन प्रस्तुति गर्ने सम्म हो, हाम्लाई सत्यको खोजी गरेर मान्छेलाई जीवनको बाइबल पढाउनु छैन | सत्यको ठेगाना शव्द हुन पनि सक्दैन | क्वान्टम विज्ञानले इलेक्ट्रोन फुटालेर त्यो भित्रअवस्थित परब्रह्माण्डको दर्शन गर्न चाहन्छ | विज्ञान वा साहित्यले सत्यको उद्घाटन गरेछ भने म वधाई दिन आतुर हुनेछु ....
==================