POEM by Deependra K.C

कविता
=============
दशैं ह्याङओभर !
—दीपेन्द्र के.सी.

यो बर्ष पनि
हाँसो ओसारेर कुदेन
दशैं एक्सप्रेस
आमाको अनुहारको राजमार्गमा ।
सुदूर लाहूर !
मनभरी न्याउली रुन्छन
रुन्छन प्रतीक्षालयहरु गाउँभरी,
दशैंको हर्न बजेन गामतिर
छुट्टी नमिल्ने शहरमा
ड्युटी लगाईरह्यो लाहूरे !
बर्षेनी
दशैं ह्याङओभर ।
सीमाका काँडेतार कटेपछि
वरै कुरी बस्नुपर्छ
इच्छाहरु,
कान्छीका बैशालु दिनहरु,
त्रसित एकजोर कानहरु
तर पनि उसै नफर्कन सक्छ दशैं
यहाँबाट शुरु हुन्छ
जीन्दगीको “वन वे” ।
खैर, सपना फुल्न सक्लान एकदिन
के काँडा झैं विझाउनु पर्छ
दशैं, हरदिन ?
नढलेसम्म पहाड जस्ता पैसाका सीमाहरु
कैद भैरहन सक्छन शुभकामनाहरु
तर पनि राखँु औपचारिकताहरु ?
बर्षेनी
दशैं ह्याङओभर !
कुरीबस्छ अर्को वर्षलाई
शुभकामना ओसार पसारलाई ।
मान्छे !
अल्झि बस्छ कहाँ ?