Special Article by Madhu Madhurya " Changed world and the relations..."

लघु लेख / चिन्तन
बदलिएको संसार र सम्बन्धहरु

डा. मधु माधुर्य

===================================================================================
.चाहेर / नचाहेर धेरै दृश्यहरु देख्नु पर्ने नियतिहरुको पुनरावृत्तिहरुमा यतिखेर प्लास्टिकको फूलमा झुक्किएको मौरी जस्तो भा'छु ....
====================================================================================

सम्झन्छु - मात्र दुइ दशक अघिको परिवेश र दृश्यहरु , तुलना गर्दा लाग्छ - यो अर्कै हो !
यहाँ परिवेश र सम्बन्धहरु बदलिएका छन् |

अस्तित्व-वोधको सीमा-क्षेत्रमा "पैसा"कोलागि भैरहेको मानवीय मूल्य र मान्यताको तीव्र अवमुल्यन अर्थात् आजको समयको नाङ्गो एक्सरे हेर्दा प्रकृतिमा रमाईरहेका चराचुरुंगी र चारखुट्टे प्राणीहरुको झन्-झन् सम्मान गर्न मन लाग्छ - सम्भवत: मेरो वौद्दिक धरातलमा भैरहेको यो अर्को आर्मागेडोन हो ...

लागिरहेछ -
युद्धमा छु : कोलाहल, अशान्ति र मृत्यु संसारको सामान्य परिचय बनेको बेला मान्छेहरुको मौनता र स्तब्धता मेरोलागि एम्बुस झैं भयावह लागिरहेछ ... उनीहरुका राता आँखा बन्दुकको संगिनजस्ता ... असीम घृणाले भरिएको कर्कश स्वर हमेशा बारुद पडकिरहेका हुन्छन् ... अस्तित्व नै समाप्त गर्ने मनसाय आफैमा कुरुक्षेत्रको अर्को संस्करण बनिरहे झैँ लाग्छ ... यस्तै यस्तै परिवेशहरुको अथकित शृंखला युद्धभन्दा बढी केहि हो .. युद्धमा को कस्ता हतियार लिएर मैदानमा उत्रिएका छन् - सबै देखिन्छन् , यहाँ त्यो भौतिक दुरविन शक्तिहीन छ | त्यो युद्धमा गोला-बारुदको निशाना शरीर हो , तर यहाँ त आत्मा नै घायल हुन्छ | यो विश्वयुद्ध भन्दा पनि भयङ्कर छ | विश्वयुद्धको सीमा हुन्छ, शुरु, अन्त्य र विराम हुन्छ - यहाँ त्यो केहि छैन ... म त्यो युद्ध जित्न जन्मेको हुँ, म युद्धमा छु .

मानिसहरु पैसा र र सत्ता कैलागि दास बनिरहेछन् ....
उकालोमा लाग्नेहरु ओरालो पनि लाग्छन | दक्षिण हानिनु अघि नै मैले बाहिरी-भित्री सबै आँखा स्वयम्भूलाई चढाएको थिए, टुपी भीमसेन स्तम्भमा टाँगेको थिएँ ; यहाको आदिम दृश्य र समाचार कि स्वयम्भूलाई थाहा छ कि धरहरालाई ! रोबोट अन गर्नुअघि विनिर्माणको प्रस्ताव कसले ल्यायो सोध्नु र ब्ल्युप्रिन्ट मलाइ बुझाउनु भनेर उर्दी जारी गरेको धेरै भयो ...

इच्छाहरुको अनन्त शृंखलाहरु चढ्दै जाँदा सबैथोक सकिएर केवल इच्छाहरु मात्र बाँकि हुने प्रसंगमा एकजोर प्रश्न सोध्न मन लाग्यो : " ए जीवन ! तँ केकोलागि आइस् र केकोलागि बाँचीरहेछस् ?? "

कुनै कुरो पाउन पहिला गुमाउनु (हराउनु) पर्छ भन्थे | चिन्तनको घना जंगलमा अनायास "म" हराएछु - यतैकतै खोज्दैछु आफूलाई...!

समय प्रस्थान :
भौतिक-सभ्यताले दृष्टि र कोणको असफल शल्यक्रिया गरेपश्चात नैतिक मूल्य र मान्यताको आधारमा "राम्रो" वा "नराम्रो" भनेर मान्छेको मुल्यांकन गर्ने दिनहरु गए ...

जीवनको सम्बन्ध बदलिदिएको छ कुनै कुराले पृथ्वीको स्वरुप आफूजस्तै चेप्टो बनाई दिएको छ: "छन् गेडी सबै तिम्रा..." !