Collection of short poems " Kavitapunj" by Madhu Krishna Shrestha

कविता

कवितापुञ्ज

- मधुकृष्ण श्रेष्ठ "माधुर्य"

१.
"जमाना: हिजो =>आज => भोलि !"

- हातको मैलो सुनको थैलो के गर्नु धनले ?
- जमाना उल्टो, नभए धन के गर्नु मनले ?
- संसारै आफ्नो भन्दाभन्दै छाड्दछ तनले !
- जीवनै दिन्छ पैसा कैलागि संसारका जनले ...

************************************************

२. अस्थिपंजर

प्रेम, मानवता र ईमान समाप्त भईसकेपछि पनि
के भयो र ?
मानिस पूर्णत: समाप्त भई सकेको हुँदैन
उस्मा अस्थिपंजर बाँकी हुन्छ,
जसले हमेशा तर्साई रहेको हुन्छ ...
=====================
३.

संसार

यो ज्ञात-अज्ञात संसारमा
जीवन एउटा गंभीर ठट्टा जस्तो!
खै कस्तो कस्तो अज्ञात भ्रमजस्तो ...
मानिसलाइ मान्छे मन पर्न छोड्यो
मानिस मानिसलाई मन पर्न छोड्यो

===============

४. यात्रा

जब मैले देखेँ तिमीलाई

मलाई मेरो याद आउन थाल्यो

जब चिप्लें म तिम्रो आँखाबाट

यो मनले तिम्लाई नै धाउन थाल्यो ....

===========================

५. प्रश्न

इच्छाहरुको अनन्त शृंखलाहरु चढ्दै जाँदा
सबैथोक सकिएर केवल इच्छाहरु मात्र बाँकि रहे
जीवन अर्को किनारामा थियो ...
र मैले सोधें :
" ए जीवन !
तँ केकोलागि आइस्

केकोलागि बाँचीरहेछस् ?? "