Gazhal by Padma Linkha Magar

साप्ताहिक सिर्जना (अंक-५ ) :गजल “तिमीलाई जिताउन...”

गजल

तिमीलाई जिताउन कैयौं बाजी हारेको छु
मेरो भागको खुसीहरू तिमीतिरै पारेको छु

कामना छ शिखर चुम्नू नहोस् कुनै बाधा अड्चन
तिम्रो लागि भर्याङ्ग थप्न आफूलाई झारेको छु

मुस्कुराउनू हिमालसरि उड्नु सधैं पवनसँग
तिम्रो ओंठमा मुस्कान हेर्न आफ्नो इच्छा मारेको छु

शिरमाथि आकाश झरोस् सहजसित थाम्न सक्छु
वाध्यताको डढेलोमा आफूलाई खारेको छु

सुखभन्दा दु:ख आफ्नो लाग्न थाल्यो जिन्दगीमा
घरबाट आफ्नो वास सडकतिर सारेको छु

पदमा लिंखा मगर
हाल: न्युयोर्क, अमेरिका