साप्ताहिक सिर्जना (अंक-१८) : कविता "नववर्षलाई स्वागत छ”- कृष्णप्रसाद गौतम

कविता
"नववर्षलाई स्वागत छ”

हे नववर्ष !
तिमी हरेक नेपालीको मनमनमा
घरघर अनि बस्तीहरूमा
नवसन्देश लिएर आऊ
उज्यालो लिएर आऊ
तिमीलाई स्वागत छ।

वसन्तसँगै हातेमालो गरेर
नवकोपिलाहरूको फक्राइ जस्तै मुस्कुराउँदै
चपल शावकहरूको लोभ लाग्दो चाल जस्तै
सगरमाथाको झैँ उच्चता र गाम्भीर्यको साथमा
प्रत्येक नेपालीको गौरव बनेर आऊ
नाच्दै मुस्कुराउँदै आऊ
हे नववर्ष! तिमीलाई स्वागत छ।

साप्ताहिक सिर्जना (अंक-१७) : कविता "जीवन जिउने कला ”- श्रीधर आचार्य

कविता
"जीवन जिउने कला "

मर्ने त पक्कै हो
आज या भोली
हाँसी देऊ न ए साथी
दिल मन खोली !!

मर्नु अघि बाँच्न सिकौँ
कति लिनु चिन्ता
यो जुनी फर्किदैन है
छोडौँ सबै टन्टा !!

यो भएसी त्यो हुन्छ
त्यो भएसी यो होला
भन्दा भन्दै समय जान्छ
अब जिउने कहिले होला !!

जे होला राम्रै होला
फेर्नै पर्छ मानव चोला
बहे पछि जिन्दगीको खोला
जपौं शिव शंकर भोला !!

आनन्दले बाँचे
मरण सजिलो हुन्छ
तनावमा रहे
जीवन भित्र भित्रै रुन्छ !!

साप्ताहिक सिर्जना (अंक-१७) : कविता "आत्माको जन्म”- लिजा भिओलोनोभा

कविता
"आत्माको जन्म"

मध्यरातको निद्रामा
ढोकामा उभिएर चन्द्रमा
फ्याँक्दै उज्यालोअँध्यारोमा
पर्खिरहेछ -
मेरो आत्माको जन्म।

मौनताबाट अनायास बाहिर आउँछ
स्पर्श गर्न
श्रवणको बीज
र उसको वरपर सबै
आवाजले भरिएको छ।
उसले बरण गर्छ
पदार्थका आचार-गुणहरु
र निल्छ:
- पानीको आवाज
- बजिरहने शब्दको घण्टी
- ब्रह्माण्डको रक्तप्रवाहको मन्द ढुकढुकी !

पातलो सुरक्षा-आवरणले
अलग्गिन्छ
सबै कुराबाट
ता कि छेउबाट हेरेर
हर्षबिभोर हुन सकियोस्।

Pages