A poem by Janu Limboo

साप्ताहिक सिर्जना (अंक-१३) : कविता "म एउटा सडक”- जानु काम्बाङ्ग लिम्बू

कविता

'म एउटा सडक'

हल्लाहरू बिनाको शहर
कोलाहल बिनाको बस्ती
हिजो र अस्ति भन्दा फरक परिवेशबीच
म, आवाजविहीन एउटा सुनशान सडक
अनगिन्ती मृत्यु बोकेर
पर .......पर ........दौडिरहेछु

मेरा वरिपरिका निरस अनि नाङ्गो रुखहरू
मलामी बनेर
शोक धून सुसेल्दै
हल्लाउँछन् बिदाईका पातहरू

मैले ओढेको आकाश
र टेकेको धर्ती चिच्याउँदै रुन्छन्
स्तब्ध छन् तारा जून

दृश्य उही छ, हेराई उही छ
खोलानाला र ताल तलैया सबै,
सबै उस्तै छन्
मात्र मृत्युका छायाँहरू
बढेका छन् आकाशमा