कविता
"कवितै होइनन्"
– दीप्स शाह
तिमी सगर्व भन्ने गर्छौ
“म कबिता सोच्दा सोच्दै दुइ चार प्याकेट सल्काइ सक्थें”
र घोषणा गर्छौ ‘प्रतिनिधि कविता’
आफ्ना केहि थान सुकिला अक्षरहरुलाई l
फेरी छाती चौडा बनाएर भन्छौ
“म गिलांस रित्याउदै हप्तौं हराउँथें
सुकुमार कविताहरु खोज्न”
र उत्साही सम्बोधन गर्छौ ‘आजको उम्दा कविता’
आफ्ना केहि थुप्रो कट्मिरो शब्दहरुलाई l
अझै रहस्यमय मुस्कान छर्दै भन्छौ
“म रसिक थिएँ....धेरैसंग मन साटियो
र लेखियो श्रींगारिक कविता पनि!’
अनि आत्मरतिको पोखरीमा आडम्बर डुबुल्की मार्दै
न्वारन गर्छौ “मेरा सुकोमल प्रेमिल कविता’
आफ्ना केहि बन्डल ‘अतिरंजनाहरुलाई’ l
म खोज्छु कवितामा अभियन्जनाहरु
र चिहाउछु विम्ब-प्रतीकका खटप्वालहरु,
म डुब्न चाहन्छु
समबेदना र सम्बेध्यको समागम सुन्दर तलाउमा
र व्यग्र हुन्छु भेट्न जीवनका अनेकन आयामहरु,
सपनाकै क्यानभास सहि
बिपनाका उल्लसित् रंगचित्र होस्
मृत्युको अनुभूतीसंगै
जीवनका उज्यालाहरु होस्
र होस् भोगाइसंगका सत्य लाग्ने समयका रेखा र बाटाहरु!!!!
कवितामा विचार खोज्दा तिमीले ‘नारा’ भनिदियौ
सामयिकता खोज्दा ‘भाषण’ भनिदियौ
र निजत्व खोज्दा ‘भुइँफुट्टा’ उपनाम दियौ l
के कविता ‘कविता’ हुन ‘खिल्ली-खिल्ली’ ले धूप धूँवार गर्नै पर्छ?
कि ‘कविता’ बन्न सोमरसले पखाल्नै पर्छ?
या ‘कविता’ मा दरिन
यौनिकतामा बगेर बहुलट्ठीपन अंगाल्नै पर्छ?
म जान्दछु ..म जान्दछु
म धुवाँमा सपना उडाउँ त तिम्रो समाजले दुत्कार्नेछ
र ललकार्दै दिनेछ कठोर चेतावनी,
म गिलाँसमा डुबुँ र बगुं त तिम्रो जमातले कानेखुसी गर्नेछ
र प्रहार गर्नेछ असह्य व्यंग्यबाणहरु,
अझै दुइदिन कतै हराउँ त बहिष्कार गर्नेछ
र दिनेछ गहिरा चारित्रिक घाउहरु ........
चुलोमा पाकेका मेरा कविताहरु तिमीलाई पच्दै पच्दैन
पँधेरामा पखालिएका मेरा सिर्जनाहरु तिमीलाई रुच्दै रुच्दैन
मेलापात र आँगनमा सुकाइएका मेरा शब्द-बिस्कुनहरु
तिमीलाई निको लाग्दै लाग्दैन,
तिमीलाई नै सजाउन मैले बुनेका
फूलबुट्टे रुमालका रंगीन हरफहरुले तिमीलाई छुँदै छुंदैन
मैले समेटेका जीवनका उच्छ्वास र आहपोहका सिंगो पेटारो
तिमीलाई ‘कविता’ नै लाग्दैन
र कोर्छौ काव्य-मापनका बेढंगी धर्सा र सिमानाहरु !
मलाइ थाहा छ
धुवाँमा रङबंगिने तिम्रा अक्षरहरु कति धमिला छन्
हप्तौं हराएर झुल्कीने तिम्रा शब्दहरु कति फोहोरी छन्
र ..गिलासको साँघुरो आयतनमा उत्ताउलिने कलमहरु
कति काँतर र निरिह छन्...
तरपनि उही मैदानमा दौडिन मेरा कलमहरु वर्जित छन्
संगै कोरिन मेरा अक्षरहरु (अघोषित) निषेधित छन्
र खुम्चिन बिबश छन् तिम्रा आडम्बरी आकांक्षा र सीमारेखाभित्र l
सुन!
सुन! तिम्रो अन्तहीन वर्जनाको टाकुरामा उभिएर
तिम्रो अकाट्य सिमारेखा दुइ पाइला नाघेर
तिम्रो सदाशयताको बैशाखी अलि पर हुत्याएर
आज म भनिदिन्छु
कि, “यो काव्यिक आकाश तिम्रो मात्रै बिराशत होइन!”
“यो सिर्जनाको फाँट तिमीले पाएको अपुताली पनि होइन!”
“केवल तिम्रो पक्षपोषक सिमा र परिभाषा भित्र ‘कविता’ अटाउँदैन!”
र यो पनि भनिदिन्छु
कि, “निरर्थक आत्मालाप तिम्रा कविता त झन् ‘कवितै’ होइनन् !”
अहँ! धुवाँ पानी र ऐयासीमा ढुंन्मुनाउदै किनार लागेका
अधकल्चा हरफहरु त झन् कविता हुँदै होइनन्!
तिम्रा कविता (तिमीले मानेको) त झन् ‘कवितै’ होइनन्