कविता
"पर्दा भित्र पर्दा बाहिर"
जीवन यहाँ आज
समयको पारदर्शी पर्दाको चौघेरोमा
अंशबण्डा भएको छ
पर्दाभित्र, पर्दा बाहिर।
समय संगीन तरवार लिएर
समुद्र वारी समुद्र पारी,
क्षितिज वारी क्षितिज पारी,
मानवीय सभ्यताको
चौकिदारीमा फेरी लगाऊदै छ।
त्रासादीको भँगालोमा भास्सिएको
सभ्यताको पर्दाभित्र
बाँच्ने जिजीवीषा सम्हालेर
जीवन
कहरको चक्रव्युहमा निसास्सिदा
उन्मुक्तिको मलिन आशामा
सहास र धैर्यताको कसीमा घोटिएर
जिन्दगीको परीक्षामा सँघर्षशील छ।
यहाँ,
चारै तिर कोलहाल छ
फरक फरक कोलाहल।
पर्दाभित्र पर्दा बाहिर ।
पर्दा बाहिर जीवन छ
इर्ष्या र द्वेष छ।
व्याभिचार र आडम्बर छ।
दम्भ र लालचा छ।
कहर छ, सपना छ।
सद्भाव र समर्पण पनि छ।
अनि पर्दाभित्र
अकिंचन हात र निरीह आँखा छ।
रित्तिएको चहाना र भत्किएको मन छ।
ओइलाउदै गएको आत्मावल र
खण्डिकृत सहास छ।
विलाउदै गरेको जीवनमा
पुनर्जागारणको कहानी छ।
र
यो प्रविधी र प्रकृतिको भिडण्त बीच
पर्दाभित्र, पर्दा बाहिर
जिन्दगीहरू स्व-अस्तित्वको जगेर्नाको
लागि सँघर्षको अनन्त यात्रामा
समाहीत छन् समाहीत छन्।
मोहन कृष्ण श्रेष्ठ
भ्यान्कुभर, क्यानाडा, सेप्टेम्बर ५, २०२० २:१५ अपरान्ह
***** ***** *****
कविता
“सिलौटाको कथा”
बगरमा पानीको लहरसंग म
लहरिंदै खित्खिताउँदै रमाउँने गर्थें
कहिले निर्मल पानी म माथि सल्बलाउँथ्यो
कहिले छल-छल ध्वनीसंगै
मेरो वरपर काउकुती लगाउँथ्यो
उसले चुम्दै मुसार्दा म राम्री बनेकी थिएँ
मेरो अनुहार चिल्लो टल्कंदै थियो
म दंग पर्दै आफ्नो अनुहार मुसार्थें।
हरेक दिन झैं त्यो एकदिन पनि
म मेरो प्रिय पानीसंग रम्दैथिएँ,
स-साना माछाहरु मसंग लुकामारी खेल्दै थिए
एक्कासी एक जना मान्छे
मेरो छेउ आएर मलाई मुसार्न थाल्यो
म संकोचले पानी पानी बनें
उसले मलाई पानीबाट झिकेर पाखामा बजार्यो
म ट्वाल्ल परेर उसलाई एकोहोरो हेरीरहें
त्यत्तिखेर आफैंले आफुलाई बेसहारा महशुस गरें
पानी मलाई नदेखेर चारैतिर हेर्दै टोलाउन थाल्यो
म उसको आँखाबाट ओझेल परिसकेको थिएँ!
त्यो मान्छेले झोलाबाट छिना र घन झिक्यो
मेरो चिल्लो बडेमानको शरिरलाई
हेर्दा हेर्दै चिरेर फक्लक्क दुई चिरा पार्यो
छिना र घनले मेरो शरिरभरी खोप्न थाल्यो
म पीडाले असह्य भएर बेस्कन छट्पटाएँ
तर उसले मेरो पीडा पटक्कै महशुस गरेन
उसको छिनाले मेरो शरिर छिया छिया पारिरह्यो
मैले उसलाई धेरै बिन्ती गरें तर उसले सुन्दै सुनेन
एकोहोरो पुरा बलले म माथि झम्टीरह्यो
यस्तो लाग्थ्यो,
मसंग उसको सदियौ पुरानो दुष्मनी छ।
छिना र घनले खोप्दा शरिरबाट चोक्टा चोक्टा निस्कियो
उसको निधारको पसीना मेरो शरिरभरी तप्कियो
त्यो मान्छेले हत्केलाले आफ्नो पसीना पुछ्यो
खोलाको पानी उबाएर मेरो शरिरभरी खनायो
मेरा आला चहर्याईरहेको घाऊहरुले शितल महशुस गर्यो
उसको डोकोमा हामीलाई बिस्तारै राखेर
खुईए खुईए श्वास फेर्दै बगरबाट हाट बजार पुर्यायो।
बजारमा हामीलाई देखेर मान्छेहरु मोल मोलाई गर्न आए
त्यो मान्छे घरी हामीलाई हेर्दै घरी ग्राहकलाई हेर्दै
दंगदास पर्दै हाम्रो मोलमोलाईमा ब्यस्त भयो
केही बेरमै म र मेरो अर्को भाग शरिर
त्यही बजारमा छुट्टाछुट्टै मान्छेहरुको हातमा बेचियौं
म चुपचाप चुपचाप मान्छेहरुको घर भित्रिएँ
न म मा कुनै उत्साह थियो न त शरिरमा स्फुर्ति नै
घरको एउटा कुनामा गएर म पछ्छारिएँ
रातभरी म घाउहरुको पीडाले छट्पटीएर
सुक्क सुक्क गर्दै आवाज दबाएर सुक्सुकाईरहें।
बिहान भयो, आँगनभरी झलमल्ल घाम लाग्यो
तर म घर भित्रै बन्दी भएँ, मेरो आँगमा घाम लागेन
मेरो शरिरको आधा भाग खै कुन ग्राहकको घर पुग्यो?
उसलाई पनि कत्ति पीडा भैरहेको होला सोच्दै थिएँ
घरका मान्छेहरु आए मेरो शरिरमा फेरी पानीले नुहाएपछि
निर्ममतापूर्बक लोराले मेरो शरिर थिलो थिलो पार्न लागे।
नाना थरीका मर, मसला मेरो छातीमा खन्याएर
लोराले छातीमा धस्न थाले, म चुपचाप सहिरहें
कहिले खुर्सानी त कहिले अदुवा लसुन पिस्न लागे
आफैंमाथि भएको यो अन्याय सहेर चुपचाप बसीरहें
एकदिन मेरो छातीमा गोलभेंडा पनि मज्जाले किचियो
उनका आँशुहरु मेरो सम्पूर्ण शरिरभरी छताछुल्ल पोखियो
उनको पीडा बुझ्ने म बाहेक त्यहाँ अरु को नै थियो र?
तै पनि मौन बसेर उनको पीडा टुलुटुलु हेर्न म बिबस थिएँ
आफ्नै छाती माथि भएको यो अत्याचार सहन म बाध्य भएँ
आफ्नै छाती माथि भएको यो अत्याचार सहन म बाध्य भएँ।
लक्ष्मी श्रेष्ठ
सुन्दरीजल, काठमाडौं
हाल: न्युयोर्क, अमेरीका