कविता
"बहुमूल्य चित्रपट"
पटक पटकका रुझाइहरू
पार गर्दै
निरन्तर हिँडिरह्यौ तिमी
आँसुका थोपाहरू बगे– अनन्त
पदचापहरू मेटिए– असङ्ख्य
ओर्लिएन पटक्वै जीवनको गति ।
बजाइरह्यौ सजीव धुनहरू
नाली पुछ्दै पसिनाका
ठोक्दै स्वाभिमानको घन
अविरल खनिरह्यौ
उन्मुक्तिको लामो डगर
कैयन् पटक गल्छेँडामा खस्दा
कसैले सोधेन तिम्रो लक्ष्य
कलिला ओठमा कलेटी पर्दा
कसैले सोधेन तिम्रो प्यास
छातीमा अनगिन्ती चोटहरू भरिँदा
कसैले लगाइदिएन मलमपट्टी
कसले खोस्यो तिम्रो मानचित्र ?
कसले उधार्यो सपनाको घर ?
कहीँ कतैबाट भएन खोजी
आफै नउठे तिमी
आफै नबोले आवाज
कसले बोल्छ तिम्रा कुरा
आफन्तले या बिरानाले ?
जसको भजन गाइरहन्थ्यौ तिमी
हो उसैले
जीवनको रङ्ग खोसेर
आफ्नो हक दाबी गरिरहेछ
तिम्रो बहुमूल्य चित्रपट ।
–राधा दुलाल कार्की
काठमाडौँ, नेपाल