कविता
"जीवनका अनुभूतिहरु: भूत र वर्तमानको सीमारेखामा"
पहिले ...
फूलहरुले हरपल सुबास छरि नै रहेका थिए तर मेरो नाक बन्द थियो
बतास ले गीत सुसली नै रहेका थिए तर मेरो कान टालिएको थियो
आकासभरि जूनतारा डुलिरहेका थिए तर मेरो आँखामा पर्दा थियो
आमाले पकाएको खीर खाँदैगर्दा मुखमा मेरो थिएन स्वाद
किनकी म आफ्नै बिचारहरुमा हराइ रहेको हुन्थे
कसैले आएर यता कता हराइस् भनेर सोध्यो भने
शरीरभरि ४२० भोल्टको क्रोध-करेन्ट दौडिन्थ्यो !
किन यस्तो भएको होला भनी चिन्तन गर्दा थाहा भयो:
मेरो दिमागमा त लेउ पो लागेको रहेछ ।
हो लेउ !
म दुखी हुँ
म पीडित हुँ
म कमजोर हुँ
म असक्त हुँ ।
यो लेउले यसरी लपेटेर राख्यो कि
सुखी हुने उपाए सबै लेउमा चिप्लेर पोखिन्थ्यो / सकिन्थ्यो
बर्षौं त्यहि लेउमा चिप्लिन अभ्यस्त भएपछि
बल्ल पछि थाहा पाएँ कि
सुख पाउन त पहिले आफूभित्रैको लेउ पो सफा गर्नुपर्दो रहेछ ।
अहिले ...
जब देखी हट्यो लेउ बिचारबाट मेरो
अंधेरो जीवनमा आशाको दियो बल्यो
दु:ख-कष्ट सकिएर आनन्दको बर्षा भयो
सोचेको थिएँ: जीवन मेरो कष्टै कष्टको हुन्छ
सोचेको थिएन: जीवनमा पुष्प वृष्टि हुन्छ
जबदेखि केही पाउने लोभ छुट्यो मेरो
नसोचेको खजानाको स्रोत जुट्यो मेरो
जब हट्यो बुवाको हात मेरो शिर
तब आयो सहयोगीको हात मतिर
धौ धौ थियो खान लाउन तर भोकै बस्नु परेन
यीआँखाबाट दु:खका आँसु कहिल्यै पनि झरेन
जीवनको गोरेटोमा गुरु भेटें मैले
काम,क्रोध,लोभ, मोह हरण गरे उनले
केही बर्ष छटपटें गुमाई यी सब
पछि ज्ञान-चक्षु खुल्यो होस मा आएँ तब
होस नै रहेछ सबैभन्दा मुल्यबान
होसकोलागि गर्न सक्छु यो जीवन दान
सँधै काँडा देख्ने आँखा फूल देख्न थाल्यो
यहि फूलभित्र मेरो जीवन फुल्न लाग्यो ।
- नमस्कार न्यौपाने
नर्थ क्यारोलिना, अमेरिका