लेख /चिन्तन:
"साहित्यबारे दुई-चार कुराहरु (भाग-१)"
कुनै कुरा वा भावलाई प्रकट गर्न प्रयोग गरिने शब्द आफैमा सामान्य संकेत मात्र हो, यसले अमूर्त भावहरुको हुबहु प्रतिनिधित्व गर्न सक्दैन, परन्तु शब्द वा स्वर (ध्वनी)बाट नै मानव सभ्यताले काम चलाउँदै आएको देखिन्छ। जीवन र जगतबारे आ-आफ्नो अनुभूति, विचार वा कल्पनालाई सशक्त रुपमा अभिव्यक्त गर्न सकिने सुन्दर माध्यम नै साहित्य हो। साहित्यिक रचना गर्नेहरुको संख्या अधिकतम् देखिएपनि सुन्दर सृजना मार्फत सम्झिरहन लायककाहरुको संख्या भने कम नै देखिन्छ।
जुन सृजना पढ्दा पढ्ने मान्छेलाई पनि केहि कुरा लेखुँ लेखुँजस्तो भावले प्रेरित गर्छ वा सकारात्मक परिवर्तनकोलागि अन्तर्मन आन्दोलित गर्छ - त्यस्तो खाले साहित्यलाई असल साहित्य भनिन्छ। असल साहित्य सुन्दर विचार, उपयुक्त शव्द संयोजन र आकर्षक शैलीबिना सम्भव देखिंदैन; यस अर्थमा राम्रो साहित्यको सृजना आफैमा गम्भीर साधना जस्तै लाग्दछ।
"थोरै लेख्नू तर राम्रो लेख्नू" भन्ने सूत्र एकदमै महत्वपूर्ण छ। जे पायो त्यहि लापरबाहीपूर्वक लेख्दा अलिअलि भएको सर्जकको छवि ह्रासोन्मुख हुँदै जान्छ र अन्तमा सृजनामा सर्जकको छवि-ओझेल पर्ने खतरा पनि हुन्छ। वास्तबमा सृजनामा सर्जकलाई उभ्याउने सामर्थ्य हुनुपर्दछ। कविता वाचन गर्दा कविले लामो समयसम्म भूमिका बाँधेर भाषण गर्नु भनेको आफूभित्रको कविको नै धज्जी उडाउनु हो, यसले पाठकको अमूल्य समय पनि बर्बाद गरिदिन्छ। बरु कविताले नै कविको उपस्थितिको महशुश गराउन सक्यो भने 'सुनमा सुगन्ध' हुन्छ होला। संख्यात्मक दृष्टिकोणले थोरै लेखिएपनि विशिष्ट स्तरका कविता वा चार लाइनको (चतुस्पदीय) मुक्तकहरुले समेत लेखकलाई अजर र अमर बनाई दिन सक्दछन्।
लेखकलाई प्रोत्साहन गर्न दिइने पुरस्कार र सिर्जनामा विद्धमान गुण-दोष/ कमी/ कमजोरीको चिरफारमार्फत् लेखकलाई परिमार्जित एवं परिस्कृत सृजना गर्न प्रेरित गर्ने समालोचनाको भूमिका गौण बन्दै जानु नेपाली साहित्यकोलागि ठूलो दुर्भाग्यको विषय हो। पुरस्कार वितरणमा देखिएको विकृति र रचनामा समालोचनाले आफ्नो धर्म निर्वाह गर्न नसक्दा राम्रो पुरस्कार र समालोचनामाथि पनि सन्देह जाग्ने अवस्था सृजना भएको हो भन्दा अतिशयोक्ति नहोला।
- मधु माधुर्य
अभयपुर, दोलखा
(हाल: अमेरिका)