कविता
"उत्तरआधुनिक रोबोट"
जुरुक्क उठ्छ एकाबिहानै
नित्यकर्म सकेर
हतार हतार
एक कप तातो-तातो कफी पिउँछ
रेलको गतिमा कुद्छ काममा
दिनभरि बोध भैरहन्छ -
काम गर्न कै लागि उसको आबिस्कार भएको हो
उसको जिन्दगीमा जे हुन्छ
पूर्वनिर्धारित "प्रोग्राम" को अनुक्रम अनुसार नै हुन्छ
"ब्रेक" मा यसो फेबुक हेर्छ
केहि पोस्ट्याउँछ,
कतै मन पराएको संकेत
गन्छ / पठाउँछ
एकैक्षण इन्स्टाग्राम र ट्विटर हेर्छ
टिकटक हेर्छ र फिस्स मुस्कुराउँछ
हतार हतार कामचलाउ "जंक"खाना खाउञ्जेल
न मेस्सेञ्जर न त जुम वा युट्युव नै हेर्न भ्याउँछ
उ फेरि काममा फर्कन्छ
केहि घण्टापछि यसो घडी हेर्छ
कामबाट फुत्त निस्कन्छ
रेलको गतिमा कुद्छ घरतिर !
बेलुकाको नित्यकर्म सकेर
एकथाल खाना खान्छ
२-४ नम्बरमा फोन गर्छ
मोबाइलमा घोत्लिन्छ
छुटेका कुराहरु
हेर्दा हेर्दै / सुन्दा सुन्दै निदाउँछ
अलार्म बजेपछि पुन: ब्युँझन्छ
र
आरम्भ हुन्छ
पूर्वनिर्धारित "प्रोग्राम" को अनुक्रम !
आफू को हो ?
सोच्नै पाएको छैन रोबोटले
वर्तमान के हो ?भविष्य के हो ?
प्रश्नहरुको जंगलमा
रहरको बिरुवा कतै हराएजस्तो छ
कुनै बेला /बिगतमा
उसले
आफ्नै सपना बुनिरहेको थियो ...
- मधु माधुर्य
अमेरिका