कविता
"याेनीकाे चित्र"
हिजाे एक चित्र देखे थेँ
तैरिरहेकाे आकाशगङ्गाकाे
मलाई याेनी जस्तै लाग्याे
बाहिर केवल शून्य र पनि
भित्र अद्भुत श्रृष्टि
बाहिर केवल माैन र पनि
भित्र अनुपम सुरिलाे नाद
बाहिर केवल शान्त स्थिति र पनि
भित्र उम्लिदाे लावाकाे साैम्य राप
यस्तै हुन्छ
याेनी र याेनी भित्रकाे चित्र
मन्दिरमा बलेकाे साँझकाे दीयाे हाेस् या
हातमा बाेकिने मसालकाे राँकाे
आगाे र लप्का दुबैमा उस्तै हुन्छ
यही आगाे याेनी भित्र पनि छ
यही लप्का याेनी भित्र पनि छ
बलुन्जेल बेजाेड तमासा
निभेपछि खरानीको थुप्रो
यस्तै हुन्छ
याेनी र याेनिकाे नियति चित्र
परमात्मासँग आत्मा माग्न
मनबाट मन टुक्राउन
सासबाट सास भर्न
प्रकृतिलाई प्रकृति दिन
पुकार गर्दै गुहार लगाउँदै
हाँसाे छर्दै आँसु झार्दै
एक निसानी ब्युँताउँछ
त्यही निसानीकाे कान
जब लोरीकाे गुनगुन भुसुक्क बिर्सन्छ
त्यही निसानीकाे शरीर
जब थपकीकाे थाप पुरै भुल्छ
तब मात्र पुरुष बन्छ, केवल पुरुष हुन्छ
श्रृष्टिकाे क्रम उपक्रम सबै बिर्सन्छ
र हेर्न लालायित हुन्छ
एउटा अलग्गै
याेनीकाे चित्र !
- समा श्री
काठमाडौ, नेपाल