EDITORIAL /सम्पादकीय

सम्पादकीय

परिवेश र साहित्य
================

...परिवेशले साहित्यको रुपहरु सिर्जना गर्छ र साहित्यले परिवेशको रुपहरु सिर्जना गर्छ ...

मैले कल्पना गरेको एउटा सन्दर्भ जतिखेर पनि मानसपटलमा घुमिरहन्छ :
यो समयमा भानुभक्त, मोतीराम, देवकोटा, सम, लेखनाथ, रिमाल, भूपीहरु युवाअवस्थामा
रहेका भए, ती श्रष्टाहरुले कस्तो खालको साहित्य सिर्जना गर्थे होलान् ?
यो प्रश्नको जवाफ दिने काम सहज नदेखिएपनि एउटा कुरो सहज रुपमा भन्न सकिन्छ :वहाँहरुले हिजोआज बनमारा झार जस्तै फस्टाई रहेको जे पायो त्यहि लेख्ने सामान्य प्रवृत्तिबाहिरै पृथक पाराले विचार प्रधान रचनाहरुको सिर्जना गर्नुहुन्थ्यो होला सायद , जसरि आफ्नै उच्चकोटीको लेखन-वृत्तमा अनवरत घुमिरहेका छन् रास्ट्रकवि माधव घिमिरे र आधुनिक कवि बैरागी काइँलाहरु !

लेखककालागि आवश्यक पर्ने मूल विषयवस्तु अन्तर्गत उसको अनुभूतिलाई घेर्ने घटना, पात्रको चरित्र र परिवेश नै पर्दछन् तर तिनको बहुआयामिक पक्षलाई नियाल्ने दृष्टिकोणको अभावमा लेखनमा हुनुपर्ने सशक्त प्रस्तुतिमा आँच आउन सक्छ |

आजको युगमा विज्ञान र प्रविधिको विकासले लामै फड्को मारे पछि साहित्यिक सिर्जनाहरु कलम र कापीको परम्परागत सम्बन्धबाहिर डिजिटल अस्तित्वमा रहन सक्ने प्रावधान देखिएको छ , त्यसको प्रकाशनकोलागि धेरै समय कुर्नु पनि पर्दैन, सम्पादक र प्रकाशकलाई चिन्नु पनि पर्दैन, चाकडी गर्नु पनि पर्दैन , धेरै जनाले एकै चोटी ती सामाग्रीहरु पढ्न सक्छन् | स्वर र भिडियो समेत सम्प्रेषण गर्न मिल्ने यो असीम स्वतन्त्रताले उत्पादनमूलक भन्दा पनि इन्टरनेट-साहित्यमा बेग्लै अराजकताको खेतीपाती शुरु गरिसकेको छ, त्यसको फल कस्तो हुन्छ नतिजा हेर्न बाँकी नै छ - अहिले सम्मको हिसावकितावमा संख्यात्मक वृद्धि ज्यादा र गुणात्मक नतिजा न्यून नै देखिएको छ |
विषयबस्तुमाथिको बहुआयामिक अध्ययन नगरी जे पायो त्यहि लेख्ने, विचारविमर्श र समालोचना नगर्दा त्यस्तो अवस्था सिर्जना भएको हो |

अन्तमा, एक क्वान्टम विचार प्रवाहित गर्ने रहर जाग्यो : हिजो सम्मको साहित्यिक विकासमा मात्र सिमित नभई नूतन विमर्श र समालोचनाको आरम्भ गरौँ र लेखन परिवेश बदलौं , नया परिवेशमा नया साहित्य सिर्जना गर्न सकिने सम्भाव्यताको सदुपयोग गरौँ | प्रत्येक मान्छे अलिखित पुस्तक हो, उसको आँखामा सल्बलाई रहेको अमूर्त तरंगहरुको सुन्दर अभिव्यक्ति के हुन सक्छ ? - चिन्तन गरौँ | अस्तु |

The sense for style … is an aesthetic sense, based on admiration for the direct attainment of a foreseen end, simply and without waste. `Style in art, style in literature, style in science, style in logic, style in practical execution have fundamentally the same aesthetic qualities, namely, attainment and restraint. The love of a subject in itself and for itself, where it is not the sleepy pleasure of pacing a mental quarter-deck, is the love of style as manifested in that study. Here we are brought back to the position from which we started, the utility of education. Style, in its finest sense, is the last acquirement of the educated mind; it is also the most useful. It pervades the whole being. The administrator with a sense for style hates waste; the engineer with a sense for style economises his material; the artisan with a sense for style prefers good work. Style is the ultimate morality of the mind.
— Alfred North Whitehead