कविता
विचक्र
- मधु माधुर्य
झुल्केको घाम -
अनवरत डुलिरहन पाउँदैन आकाशमा
साँझपख ओइलाउँछ निस्तेज बनेर
उतै क्षितिजतिर गर्ल्याम्म खस्छ र बिलाउँछ ....
फक्रेको फूल -
सँधैभरि फ़ुलिरहन सक्दैन आफ्नो बोटमा
केहि दिनमै ओइलाउँछ रंगहिन /सुगन्धहिन बनेर
धरतीको न्यानो काखमा प्वाक्क खस्छ र सकिन्छ
ईश्वररुपी मान्छे -
संधैभरी बाँचिरहन सक्दैन आफ्नो जीवन
केहि दशकमै उमेर छिप्पिएर वा नाछिपिंदै
प्राणपखेरु उडेर धरतीमा खरानी हुन्छ र ईहलीला इति हुन्छ
घाम र फूलभन्दा पनि प्रिय -
तिम्रो प्रॆम संधैभरी मौलाई रहन सक्छ वा सक्दैन दिलमा
प्रश्न गर्छु, धर्मराउँछु, सिरिङ्ग चिसिंछु र चिन्तामग्न हुन्छु :
"अब म सम्पूर्ण मृत्युहरूको मृत्यु भएर निर्विकल्प बाँच्नु पर्छ ...".