कविता
बाटो र परिवेश
- मधु माधुर्य
एउटा सोझो बाटो यहीँबाट जान्छ
र सबैभन्दा भोको झुप्रोको छातीमा लात्ती बजार्छ
एउटा कालो पीच सडक यहीँबाट जान्छ
र मन्त्रालयहरुमा षडयन्त्रका
फायल टेवुलहरूमा पुर्योउँछ
हामी पो युगौँदेखि यहीँ छौँ
एउटा चोरबाटो यहीँबाट जान्छ
र सिंहदरबारभित्र पस्छ
र अजङ्गको ढोका बन्द हुन्छ
र अग्लो पर्खालभित्रबाट
गाउँ घर झुपडीहरू देखिन छोड्छ
कठै मेरा गाउँहरू...
र पुराना सबै बाटाहरुको
विनिर्माण सपना देखिरहेछु
यस्तो परिवेशमा -
गान्धीजस्तालाई - गोली, क्राइष्टजस्तालाई - क्रस
ठग, लुटेरा र हत्यारालाई जताततै हरियो जेब्राक्रस
'दानव'-वस्तीमा आफू मानव होइन भनी ढाटिरहेछु
आफ्नै हातले इमान, आदर्श र यथार्थ रेटिरहेछु ॥
अब म
यथार्थलाइ आत्मसात गर्दै
परिवेशको पर्दाहरु च्यात्न चाहन्छु
टाँगछु नयाँ सपनीका पर्दाहरु !