कविता
प्रश्नको केन्द्रमा मान्छे
=================
डा. मधु माधुर्य
थुप्रै ज्यूँदा आहारहरु रेटेर
हामीलाई शक्तिको पुजारी बनाउने
बडा-दशैँ फेरिपनि हाम्रो घर-दैलोमा आउंदै छ |
सबैभन्दा सान्दर्भिक अभिव्यक्ति " बडादशैंको शुभकामना"
तुफान बनेर ब्रह्माण्ड घुमिरहेको छ
सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना सुनाउंदै
हो -
दानवहरु फर्की रहेका छन्
लाग्छ -दानवहरु सँधै फर्की रहेका हुन्छन्
वा उनीहरुको मृत्यु मरिसकेको छ ...
उपासना / आराधना गरेपछि
अदृश्य देवी देवता आउने
किम्बदन्ती छ
देवीले फेरी शान्तिको खातिर
दानवहरुको वध गर्नु हुन्छ कि मौन बस्नु हुन्छ ?
प्रतीक्षा गर्दागर्दै
एक हुल मनुवाहरु आए !
जिससलाइ क्रसमा टाँग्नेहरुसँग
असहज वार्ता हुँदैछ ...
उनीहरु आफ्नो "मिसन" पूरा नभएको गुनासो गर्दै
फेरी पनि फर्केका छन् -
मेरो मन-मझेरीको विरुवा चोरेर
वेविलोन सजाउनेहरुसँगै
के उनीहरु पनि तिनै दानव हुन ?
यी दुबैको उपस्थितिमा
असुरक्षित मेरा कल्पना, जिजीविषा र अनुभूतिहरु
यो संसारलाई सुनाउंदै
रोइरह्यो |
मृत्यु नै जीवनको पर्याय हो र ?
हुन सक्दैन
कथा र यथार्थको "हाइब्रिड" मिश्रणमा
घुलेर मान्छे
सबैतिर विभक्त छ
सँधैभरि प्रश्न गर्छ :
को देवता हो ?
को दानव हो ?
सतहमा म पनि प्रश्न गर्छु
को मानव हो ?