कविता
सौन्दर्यानुभूति
- डा. मधु माधुर्य
सदाबहार हिउँदको बर्को ओढेर
आधुनिक संसारमाझ धुमधुम्ती बसिरहेको गौरीशंकरको उकाली लाग्छु,
छेउको चौतारीमा बिसाउछु एकछिन ,
हेर्छु संसार र हेर्छु उसलाई,
ऊ मलाई हेरिरहेछ,
हिउँको चीसोलाई न्यानोमा बदल्न हाम्ले अँगालो हाल्यौ,
गन्तव्यमा फर्कंदा मभित्र पूर्णताको आभास भैरहेछ -
अहिले म म छुइन ,
ऊ ऊ छैन...
यो अनुभूति
शव्दमा छैन ...
बेचिएको कलम औंलामा अठ्याउँदै
नबेचिएको मन कागजमा घोट्दा न भन्न खोजेको कुरा भन्न सकियो,
न पढ्नेले बुझिदियो अक्षरहरुभित्र चलखेलको यो इतिहास
न कहिले लेखियो, न कसैलाई भनियो ...
अमूर्तता-बोधको तृष्णामा छट्पटाउँदै
पहरा-कन्दराको प्रतिध्वनिमा हराउँदै छु म त !
सौन्दर्यानुभूतिबिनाका कविताहरुलाई थुक्दै
विक्षिप्तप्राय: बनिसकेको मान्छे म -
आफैलाई कवितामा घोलेर प्रयोगहरू गर्दैछु र
लाग्छ : भयहरु मरिसकेका छन् ...
हिमालकोजस्तो प्रेम
अर्थात्
सौन्दर्यानुभूतिको अर्को आयाम
तिमि पनि त हौ नी !
जब मैले देखेँ तिमीलाई
मलाई मेरो याद आउन थाल्यो
जब चिप्लें म तिम्रो आँखाबाट
यो मनले तिम्लाई नै धाउन थाल्यो ....