कविता -
" प्रिय, म मन्त्री हुन सक्दिन " -
ध्रुव सापकोटा
काग भएपनि
उ
कोइलीको गीत गाउँछ
ममा त्यो कला छैन
बाज भए पनि
परेवाका प्वाँख फिजाउँछ
म चटकी हैन प्रिय
म सक्दिन त्यसो गर्न
म मन्त्रि हुन सक्दिन !
तिमीलाई भोक लाग्छ
मलाई पनि लाग्छ नि प्रिय
तिमीलाई प्यास लाग्छ
मलाई पनि त लाग्छ नि प्रिय
तर
हाम्रो र उस्को भोकमा अन्तर छ
हाम्रो र उस्को प्यासमा अन्तर छ
उस्को पेट ठूलो हुन्छ
जती खाए पनि नअघाउने
कुम्भकर्ण हुन्छ उ !
हामी भात खान्छौं
उस्लाई त्यतिले मात्र पुग्दैन
उ पीडितहरुको राहत पनि खान्छ
त्यतीले पनि पुग्दैन
अलकत्रा पनि खान्छ उ
अनि
मट्टितेलले कुल्ला गर्छ !
भो प्रिय मलाई अलकत्रा खानु छैन
अनि मट्टितेलले कुल्ला गर्नु छैन
म मन्त्रि बन्न सक्दिन !
तिमी घरमा बस्छेउ
म पनि घरमा
उ महलमा बस्छ
उस्का चाहना असीमित हुन्छन्
बडा लालच हुन्छ उस्को छाती भित्र
महलले मात्र पुग्दैन उस्लाई
पीडितहरुको त्रिपाल पनि चाहिन्छ उस्लाई !
बरु झुपडीमै बसुँला प्रिय
भयो चाहिएन त्यो लुटको महल
सक्दिन प्रिय, म मन्त्रि हुन सक्दिन !
तिमीलाई रोमान्स मन पर्छ
मलाई पनि पर्छ नि प्रिय
जब हामी दुबै रोमन्चित हुन्छौं
एक अर्कालाई आलिङन गर्छौँ
कती रमाउँछौँ हामी प्रिय
हामी दुबै भावबिभोर हुन्छौं
तर था छ तिमीलाई उस्को रोमान्स कस्तो हुन्छ ?
जब बर्खा आउँछ
जताततै हरियाली छाउँछ
डिउटीमै कोदोको झोल पिउँछ उ
अनि खेत र खलियानमा
असार पन्ध्र मनाइरहेका
ति चेलीहरुलाई
ति आमाहरुलाई
अंकमाल गर्छ
बडो बेसरम ढंगले
बद्नाम हुन्छ उ
अनि लाचार हुन्छ
राजीनामा ठोक्छ
भो प्रिय मलाई चाहिएन यस्तो
म मन्त्रि हुन सक्दिन !
तिमी कशम खान्छेउ
म पनि खान्छु
तर धेरै फरक छ
हाम्रो र उस्को कशममा !
सारा देशवासीको सामु कशम खान्छ उ
देशप्रेमी हुँ भन्छ
पराइसँग कहिले झुक्दिन भन्छ
जब देशनै हुन्न त हामी पनि हुन्नौ भन्छ
बडा भावुक बनाउँछ हामीलाई उ
हामीलाई पगाली दिन्छ उस्को कशमले
हामीलाई ढुक्क पारी दिन्छ उ
अनि
केही छणमै कशम तोडछ उ
हामीलाई झुक्याउँछ
पराइका सामु झुक्छ
पराइको गुलाम बन्छ उ
अनि
हामीलाई
हाम्रो स्वाभिमानलाई
हाम्रो राष्ट्रलाई
सुम्पेर आउँछ
झुटको खेती गर्छ हामीसँग
देशद्रोही र गद्धार साबित गर्छ आफुलाई
भयो प्रिय
म यो सब गर्न सक्दिन
मलाई यस्तो मन्त्रि हुनु छैन
हाम्रो राष्ट्रियता बेच्नु छैन
हाम्रो स्वाभिमान बेच्न सक्दिन
म मन्त्रि हुन सक्दिन !
=========================