क्वान्टम कविता :
==========
त्यो बस्ती...
- डा. मधु माधुर्य
मैले देखेका / नदेखेका बस्तीहरु छन्
मैले हिंडेका / नहिंडेका बाटाहरु छन्
सपनीमा देख्छु / विपनीमा देख्छु
तिनलाई -
र सम्झन्छु
मैले साक्षात्कार गरेको / नगरेको हरेक क्षणहरुलाई ...
कलिलो बिहानी घाम मनपर्छ
मलाई
साँझपूर्वको मन्द घाम मन पर्छ
रोकेर अपरान्ह वा साँझहरु
क्षितिजमाथि घाम थामिराख्न नसक्दा
बानी पर्दै गए रातहरु ....
गृष्मको सितल बतास मनपर्छ
मलाई
समुद्री किनाराको हल्का छाल मनपर्छ
रोकेर तूफान र अग्ला ज्वारभाटाहरु
ऋतु र मौसमको जलवायु-अमनचयन थामिराख्न नसक्दा
बानी पर्दै गए सुनामीहरु .....
अँधेरो बर्साउने सूर्य /चन्द्र ग्रहणका पलहरु
पूल, बाटो, गोठ र घरहरु बगाउने भारी मनसुनी वर्षा
अभ्यस्त बन्दै गए
प्रकृतिका खॆल "जलप्रलय" र ज्वालामुखीहरु
हाम्रा इच्छा / कल्पना विरुद्धका घटना/परिघटना -
वायु-कम्प, जल-कम्प, अग्नि-कम्प र भूकम्पका प्रकरणहरु .....
हावामा उडेर जीवन खस्ने
पानीमा सुलुत्त अस्तित्व बगेर डुब्ने
आगोमा अवयव हुर्हुरी जल्ने
भूकम्पमा जीवन र जगत ध्वस्त हुने
यी सारा विधी-विधान फेर्न नसक्दा
"म को हुँ ?" बुझेर रमाउन नपाउंदै
बानी पर्दै गए सन्त्रास, पीडा र मृत्युहरु .....
मृत्युको विवसतापूर्ण प्रक्रियामा
कैयौं मानिसहरु बाबु-आमा गुमाएर टुहुरा बने
"हामी चाहिँ सुरक्षित छौं" भनेर गर्वको 'स्टाटस' टाँग्न सकिन
बिना रहर मर्ने मान्छेहरुसँग मेरो पनि नजिकको मानवीय सम्बन्ध थियो
कैयौं मानिसहरु बाल-बच्चा गुमाएर निर्सन्तान बने
सूचना-संजालहरुमा "हामी चाहिँ सुरक्षित छौं" भनेर हर्ष घोषणा गर्न सकिन
किनकि आफन्त मरेर बाँच्नेको पीडा/सम्बेदना मभित्र पनि दन्किरहेको थियो .....
जबर्जस्ती मान्छेहरु आफै पात्र र दर्शक बन्नु परेको विभत्स नाटक "भुकम्प-७२"को
नेपथ्यबाहिर डाकेर त्यसको "निर्देशक / लेखक"लाई सोध्न चाहन्छु म :
दरबार हत्याकाण्ड र रक्तपातपूर्ण द्वन्द्द सहनेहरुको छाती नै फेरी 'अचानो' भयो किन ?
रगत, आँसु र विनासबाहेक नेपाल हिंड्ने अर्को बाटो हुन सक्दैन ?
राणा-शासन, हुकुमी शासन र गणतन्त्र-लोकतन्त्रको नाममा
विदेशीको इसारामा देश चुस्ने स्वदेशी 'ब्वाँसा शासन' विना नेपालले बाँच्न पाउँदैन ?
अनुत्तरित प्रश्नहरु सिमलका भुवा झैँ हल्का / फिका बनेर उड्दै हराउँदै गरेको देख्नु पर्दा
इतिहासको सम्पूर्ण कालखण्डमा आजसम्म किम्कर्तव्यबिमुढ छु ....
आफूजस्तै पीडाका भरियाहरु छन् कि कतै ? खोजिरहेछु ....
मलाई थाहा छ :
यो साँग्रिलाको माटो सुनको हो , बाटो सुनको हो
यहाँको संस्कार :
“मान्छेको बस्तीमा भगवान र भगवानको बस्तीमा मान्छेको सहअस्तित्व” !
मान्छेसँगै ढलेर मन्दिर र पुरातात्विक उचाई/ धरहरा
आज खण्डहर बनेको छ
मान्छेभित्र पनि ईश्वर हुन्छ भन्ने अनुभूतिलाई स्वीकार्दै गर्दा
भत्किएको मन्दिरमुनी देउताका लास खोज्दै / गन्दै
जीवनको सौन्दर्य विर्सनुपरेको क्षण
घाट, चिहान र क्रेमाटोरिया बनिरहेको गाउँ र शहरहरुमा -
पीडित छलेर विश्वव्यापी राहतको रयाल चुहाउँदै हिंड्ने
स्वदेशी जाली-फटाहा / निर्लज्ज 'नेता(?)' हरुलाई
घटिया शव्दावेग घोलेर मैले गाली गर्न सकिन
राहत बाँड्न नसकी मरेको लाटोकोसेरो झैँ पीडितलाई टुलुटुलु हेरेर बस्दा नथाकेको 'हाम्रो सरकार(?)' लाई
मैले मूर्दावाद घन्काएर भत्सर्ना गर्न सकिन
पीडितको चहराइरहेको घाउमा नव-आन्दोलनको चुक छर्ने 'क्रान्तिकारी(?)' हरुलाई
मैले श्रद्दा-सुमन चढाएर प्रशंशा गर्न सकिन
किनकि भूकम्पको पहिको तरंग आउनु अगाबै
जनताको आस्था-केन्द्रमा उनीहरुको ‘कोमा’-मृत्यु भैसकेको थियो ....
लडेर घरहरु धुलो-पीठो भएका छन्
पर्यटक फकाउने संरचना ढलेर भग्न भएका छन्
मर्नेहरुले माटो र खरानीलाई आत्मसात गरिसके
घरबारबिहिन भएर बाँच्नेहरु
आकाशलाई छाना र धरतीलाई घर स्विकार्न नसकी मुर्छित छन्
मौका छोपेर
राहतको चकलेट देखाउँदै विदेशी गुप्तचरहरु देश भित्रभित्र छिरेका छन
स्वदेशी चोरहरु छिमेकीको घर-आगन छिरेका छन्
धरतीमा नअटेर कोलाहल र क्रन्दनको सिम्फोनी
ब्रहमाण्ड-पहरा प्रतिध्वनित छ
समयको कस्तो काल-प्रहर/प्रहार हो यो ?
सपना र विपनाको दोसाँधमा -
मुर्छित सम्बेदना ढलान गरिएको शालिकजस्तो
अचेतन गोरेटाहरुमा विक्षिप्त विक्षिप्त बनेर भौंतारिरहेछु
ए 'सभ्य' घोषित आधुनिक मनुवाहरू !
घडी त्यागेर भागेको समयलाई अंकमाल गर्दै
म तिम्रो मुलायम छायाँ टेकेर हिंडिरहेछु
"भूत आयो .....भूत आयो....! " भनी नतर्सनू !