कविता
अतितको रेखा र भोलीका आकृतिहरु
"समय, आमा र सन्तान"
मधु माधुर्य
अतित -
वर्तमानको इतिहास
वा भूतको गुँड
नविकरण भैरहन्छ ...
आँखामा -
त्यसको मूर्त/ अमूर्त अनुहार
झझल्को आइरहन्छ ...
मार्च -१४ ले क्यालेन्डरमा
हाराकिरी गरेको दिन -
समयले आमाको अन्जुलीभरि
केहि चल्लाहरु थमाई दियो :
आफ्नै सम्झेर पालिन् , हुर्काइन, बढाइन्
र एकदिन उडाइन् :
एकहुल हुचिल र चिलहरु तँछाड-मछाड गर्दै आकाशमा उडे
आमाले सोचेको परेवाहरु हैन रहेछन् ती ....
मार्च -१४ ले क्यालेन्डरमा
हाराकिरी गरेको दिन -
समयले आमाको आगनमा
केहि कलिला चरहरु हुलि दियो :
आफ्नै सम्झेर पालिन् , हुर्काइन, बढाइन्
र एकदिन
छाडिन् :
एकहुल हुँडार र स्यालहरु तँछाड-मछाड गर्दै धरतीमा छरिए
आमाले सोचेको मृगहरु हैन रहेछन् ती ....
समयलाई थाहा थियो :
आमाको मुटुमा मात्र प्रेम हुनसक्छ
मात्र प्रेम हुनसक्छ आमाको मुटुमा
आमालाई थाहा थिएन :
समय छल गरेर पनि आउन सक्छ
र सच्चा छोरा-छोरी खोज्दै आमा आज कल्पना गर्दै छिन् :
"छोरा-छोरीको मन सायद यो समयजस्तो हुँदैन होला ...
कहाँ छौ मैले जन्माएको छोरा-छोरीहरु ?
दिउँसोको घाममा तिमीहरुको मुहार हेर्ने मन छ
दिउँसै रात पारेर समयले दृष्टिभ्रम देखाईरहेको बेला
मुहार नछोपेर एउटै आगनमा आऊ मेरा छोराहरु-छोरीहरु !"
आमाले सिंगो क्यालेन्डर
च्यातचुत च्यातेर झ्यालबाट मिल्काइन्
र लामो सास तानिन् :
"एउटा समय सकियो ...
अब
अर्को
समय
म
आफै
बुन्छु !"