Poem by Madhu Madhurya

कविता :
इतिहासमा देखिने /नेखिने पानाहरु
- मधु माधुर्य

कुनै दन्त्यकथाको अंश होइन यो
मात्र हिजोको कुरा हो
कुनै बेला अंशुवर्माले
छोरी भृकुटी दिएर "आक्रामक" भोटबाट देश जोगाएको इतिहास सुनेको थिएँ
सबै घरको चुल्होमा आगो नबलेसम्म भात नखाने शासकको कथा सुनेको थिएँ
"देश ४ जात ३६ वर्णको साझा फूलबारी" भन्ने पराक्रमीको जीवनी सुनेको थिएँ ...

आज -
सत्ताको नियुक्ति बुझ्न
"हाम्रा" सिल्ली नेता दिल्ली दौडिरहन्छन्
"रिमोट-कन्ट्रोल सिग्नल" मा चलिरहन्छन्
देखाउंदै
रित्तिएको इमान र देशभक्ति !

श्यालहरुको लुछाचुंडीद्वारा आक्रान्त
देश -
हमेशा आर्यघाटमा लम्पसार परिरहन्छ
रामितेहरुको लाममा
विचरा "दुख्ने कवि" कविता लेखिरहेछ
"सर्वज्ञाता" पत्रकार समाचार छापिरहेछ
तिमि जस्तै "म" पनि भित्रभित्रै जलिरहेछु
मानिस वा नागरिकको
परिभाषामा यसरी सकिएँ हुँला
'म' पनि
अँधेरो इतिहासमा छु
यथास्थितिवादको भीरमा
माटो उचाल्न भनेर कोहि आएन,
उचालेर कोहि गएन ... !