साप्ताहिक सिर्जना (अंक-३) :कविता “अन्तर्राष्ट्रिय छुट”

कविता
' अन्तर्राष्ट्रिय छुट '

विश्व बजार कहाँ पुगिसक्यो
हामी भने जइँको तइँ
एकै विषयमा रट् लगाइरहेछौं
सेन्चुरी रेकर्ड ब्रेक गर्नुपर्ने झैँ ट्याँउ-ट्याँउ गर्दै..

बाबै
यो समय त
स्वाहातन्त्रको हो
लोकमा अलौकिक कार्य गरि
लागेको काम/कुरा गर्न बोल्न मज्जाले पाइने समय हो
अहँ मनगणन्ते होइन
गणागण गणतन्त्रको हो यो समय
यहाँ हरएक स्वतन्त्र छ
हर प्रकारको अधिकार प्रयोग गर्न
यसो भनौं छुट छ
अन्तर्राष्ट्रिय मान्यताको
जे होस्
हाम्रो अर्ग्यानिक मूल्यको अवमूल्यन हुनुहुन्न

भो छोड्देउ
ती सालिक ढालेका कुराहरु
जनता आहत हुने युद्धका कुराहरु
ती सहिदका सपनाका कुराहरु
सबभन्दा धेरै त युवा बेचिने कुरा
भो छोड्देउ
अब यहाँ
अन्तर्राष्ट्रिय छुट सम्मेलन हुनुपर्छ
र हाकाहाकी
औकातको मूल्य तोकिनु पर्छ
नाथे थोत्रो आदर्श र स्वाभिमानको भाउ
घट्दोछ विश्वबजारमै

आउ गरिदिउँ
एउटा विज्ञापन
ठुलो विज्ञापन
जहाँ अन्तर्राष्ट्रिय छुट सम्मेलनका
निकै आकर्षक सुबिधाहरु तोकीदिउँ
सडकदेखि सदनसम्मको
सीमानादेखि आँगनसम्मको
अनि
प्राकृतिक स्रोतहरु
माटो ढुँगा नदीनाला जडीबुटीहरु
स्वार्थीहरुको स्वार्थले
मुस्कुराउँनै हिच्किचाउने ती हिमालहरु . .
आउ
बनाउँ एउटा अन्तर्राष्ट्रिय कानून
जसको आँड लागि
बेचिदिउं
यो तरुल जस्तै नक्साको मुस्कान . . !

सुनिता राई कन्दङ्वा
इज्राएल