साप्ताहिक सिर्जना (अंक-४) :कविता “हतारले जीवन”

कविता

हतारले जीवन

जब यो रात
विस्तारै छ्प्पिदै आउँछ
तब पूरानो झुप्रे घरकोआँगनमा
सुटुक्क ओर्लिने
त्यो कलिलो जूनको याद आउँछ
म,
यो विरानो शहरका बत्तिहरू हेर्दै
सम्झी रहेछु,,,,,,,,,
सिकुवा, पर्तिर जुठेल्नो
छेवैको अर्चलो रूख
र आकाशतिर लम्की रहेको बाँसको टुप्पो
***
सिनित्तै पारेर आमाले माझेका ति वर्तनहरू
जूनको टकमा यिनै बत्तिहरू झैँ बल्थे
रात किन नहोस्
आहा ! यो मङ्सिरको महिना
एउटा उमंग जागी रहन्थ्यो
खेतका गराहरूमा
र धानका बालाहरूमा
गरिबको पनि केही समय हाँस्ने महिना हो
आँत र पेट भर्ने खुसीको मौसम हो
जूनसंग संगै हिड्ने बादलसंग
सोध्न मन लाग्थ्यो कुनै दिन
कहाँ पुग्न हिँडेको हो ?
***
बादललाई देखेर
उड्न मन लाग्थ्यो, मलाई पनि
सपनाहरूको फूल टिप्न माथि माथि
आकाश भन्दा माथि पुगौँ जस्तो लाग्थ्यो
तर जसरी बादलको गति 'एक भ्रम' हो
त्यसरी नै
मान्छेका ईच्छाहरू पनि 'भ्रम' नै रहेछन्
जसरी बादलको निश्चित गन्तव्य हुँदैन
मान्छेका आकांक्षहरू अनिश्चित रहेछन्
समयको माझधार हुँदै हिड्दा
मान्छेको आफ्नै गन्तव्य नहुँदो रहेछ
***
युग टेकेर, आयु बोकेर मान्छे हिँड्नु पर्ने रहेछ
हिन्दा हिन्दै कतै माया छुट्दो रहेछ
कतै याद छुट्दो रहेछ
आफ्ना र आफन्त स्मृतिमा बोकेर
कहाँ कहाँ पुग्दो रहेछ, मान्छे
जस्तो कि
म पनि यो विरानो देशमा आई पुगेको छु
***
जति प्राप्तिको बाटो खोज्दै हिँड्यो
उति शून्यताका डोबहरू अगाडी देखिँदा रहेछन्
न शिशिरको गन्ति हुन्छ
न वसन्तको हिसाब हुन्छ
हरेक बिहान ब्युँझिन्छ - हतारले जीवन
हरेक साँझ निदाउँछ - उदासले जीवन !!!

मनु लोहोरूङ राई
संखुवासभा, हाल: अमेरिका