साप्ताहिक सिर्जना (अंक-४) :कविता “एउटा भिन्नै युद्ध ”

कविता

एउटा भिन्नै युद्ध

मानबजातिले ईतिहासमा थुप्रै युद्ध लडे
कहिले धनुष, भाला र तीरले लडे
कहिले खुकुरी, तरवार अनि बन्दुकले लडे
कहिले तोप, गोला र बारुदले लडे त
कहिले एटम बम, हाईड्रोजन र न्युक्लियेर बम ले लडे
यसरी मानबजातिले थुप्रै थुप्रै युद्ध लडे

आज मानबजातिले
एउटा भिन्नै युद्ध लडिरहेछ
आजको युद्धमा दुश्मन अदृश्य छ
विश्वको हरेक कुनामा युद्धको धावा बोलिरहेछ
कहाँ छ कसरि छ अनि कुन ठाउँमा छ देखिदैन
तर दुश्मनले हजारौं मानबलाई आक्रमण गरिरहेछ

अदृश्य दुश्मनको आक्रमण
कुनै शहरमा सिमित छैन
कुनै व्यक्तिमा सिमित छैन
कुनै समयमा सिमित छैन
आक्रमण निरन्तर जारि छ
त्यसरी नै जसरि
मृत्यु पनि निरन्तर जारि छ

आज एक्काईसौं शताब्दीमा
अदृश्य दुश्मनको बिरुद्ध
सम्पूर्ण मानबजाती एकताबद्ध बनेर
एउटा भिन्नै युद्ध लडिरहेछ
आफैले आफैलाई बन्दि बनाएर
आफैले आफैलाई एकान्तबास राखेर
मानवजातिको नरसंहार बिरुद्ध
एक अर्थपूर्ण युद्ध लडिरहेछ
बिना हातहतियारको
बिना बन्दुक
बिना आवाजको
एकदम शान्त, संयमता अनि धैर्यताको
एउटा भिन्नै युद्ध लडिरहेछ

यस युद्धमा लड्न
कोहि ध्यानमग्न छन्
कोहि शान्तिको गीत गाईरहेछन
कोहि चेतना बांडीरहेछन
आफै आफै संग
आफै आफैमा अनि
आफै आफै भित्र

बिश्व आज एक भएर
निरन्तर लडिरहेछ यो युद्ध
एउटा भिषण युद्ध
अदृश्य जीवाणु संगको युद्ध
एउटा भिन्नै युद्ध

मानबजातिले ईतिहासमा
यसरि नै थुप्रै थुप्रै युद्ध लडे
पहिलेको भन्दा फरक
आजको यस युद्धमा
तमाम अस्पताल युद्धस्थल बनिरहेछ
अनि सिर्फ सिर्फ अग्रपंक्तिमा
स्वास्थकर्मी युद्ध लडिरहेछ
सम्पूर्ण मानबजातीको रक्षार्थ
एउटा भिन्नै युद्ध
अदृश्य दुश्मनको बिरुद्ध ....
तर
मानवजातिले हारेको ईतिहास
कहीले पनि छैन
न त् अब हुनेछ
तसर्थ जीत निश्चित छ ।
सिर्फ समयको प्रतिक्षामा !!!

त्यसैले युद्ध लडिरहेछ
एउटा भिन्नै युद्ध !!!

बसन्त श्रेष्ठ
भर्जिनिया, अमेरिका