कविता
"आत्माको जन्म"
मध्यरातको निद्रामा
ढोकामा उभिएर चन्द्रमा
फ्याँक्दै उज्यालोअँध्यारोमा
पर्खिरहेछ -
मेरो आत्माको जन्म।
मौनताबाट अनायास बाहिर आउँछ
स्पर्श गर्न
श्रवणको बीज
र उसको वरपर सबै
आवाजले भरिएको छ।
उसले बरण गर्छ
पदार्थका आचार-गुणहरु
र निल्छ:
- पानीको आवाज
- बजिरहने शब्दको घण्टी
- ब्रह्माण्डको रक्तप्रवाहको मन्द ढुकढुकी !
पातलो सुरक्षा-आवरणले
अलग्गिन्छ
सबै कुराबाट
ता कि छेउबाट हेरेर
हर्षबिभोर हुन सकियोस्।
तर केहि क्षण बितेर जाने बितिक्कै -
आत्मा बलियो हुँदैजान्छ
(जड) पदार्थमा जरो गाड्दै जान्छ
अन्य सबै आवाजहरूभन्दा जोसिलो
अति महत्वाकांक्षी
आवाज घन्कन्छ
शंखघोष गर्दै
ब्रह्माण्डको गीत
"म " -जन्मज्ञान को प्रतीक !
र आरम्भ हुन्छ
निभ्दै गरेको प्रकाशको चुनौती-
क्षितिजनिर देखिएको मृत्युको झलक !
- लिजा भिओलोनोभा
रुस महासंघ
(रुसी भाषाबाट नेपालीमा अनुवाद: मधु माधुर्य)