साप्ताहिक सिर्जना (अंक-१८) : कविता "नववर्षलाई स्वागत छ”- कृष्णप्रसाद गौतम

कविता
"नववर्षलाई स्वागत छ”

हे नववर्ष !
तिमी हरेक नेपालीको मनमनमा
घरघर अनि बस्तीहरूमा
नवसन्देश लिएर आऊ
उज्यालो लिएर आऊ
तिमीलाई स्वागत छ।

वसन्तसँगै हातेमालो गरेर
नवकोपिलाहरूको फक्राइ जस्तै मुस्कुराउँदै
चपल शावकहरूको लोभ लाग्दो चाल जस्तै
सगरमाथाको झैँ उच्चता र गाम्भीर्यको साथमा
प्रत्येक नेपालीको गौरव बनेर आऊ
नाच्दै मुस्कुराउँदै आऊ
हे नववर्ष! तिमीलाई स्वागत छ।

बाँसुरी, डम्फु,टुङ्ना र ढोलहरूको तालमा
मालसिरी, सेलो र पालम गाउँदै
माघी र छैटको प्रसाद बोकेर
लेकबेँसीको कथा जोडिएको इतिहास बोल्ने
सुमधुर धुन बजाउँदै आऊ
आऊ नयाँ वर्ष!
तिमीलाई स्वागत छ।

यहाँ दुर्योधनहरू सभाको आयोजना गर्दैछन्
थुप्रै सकुनीहरूको गुप्त योजनामा
महाभारत रच्न।
हजारौँ युधिष्ठिरहरू विवश छन्:
तरवार र धनुकाँडको निसाना साँध्न
यहाँ कैयन सीताको अस्तित्वमाथि प्रश्न उठाइँदै छ
द्रौपदीहरू निर्वस्त्र गरिँदै छन्
हजारौँ निर्मला र भागिरथीहरू
लामबद्ध उभिँदै छन्
आफ्नो अस्मिता र प्राणको भीख माग्न।
त्यसैले ती सबैको भरोसा बनेर
गहकिला पाइला चाल्दै आऊ
आऊ नव वर्ष! तिमीलाई स्वागत छ।

यहाँ प्रदुषित गन्डकीले
कैयौँ शालिग्राम बिरामी पर्दैछन् रे
बागमती किनारमा तिर्खाएका छन् रे पशुपतिनाथ
अनि कसरी रक्षा गरून् उनीहरूले
यी दुर्बल बस्तीहरूको!
यस्तै हुँदै गए म कसरी भनौँ यहाँ
देवघाट दैत्यपुरी नबन्ला भनेर
मेरा कोशी र कर्णालीहरू वैतरणी नबन्लान भनेर
किनभने,यहाँ हजारौँ गोहीहरू प्रतिक्षा गरिरहेछन्
तिर्खाएका प्राणीहरूको।
चारैतिरबाट कोपरिँदा कोपरिदै
मेरी आमा घाउघाउ बनेकी छन,
मेरो कालापानी र पशुपतिनगर
भिख माग्दै छन् वलीदानीको
तर जिम्मेवार सन्तानहरू व्यस्त छन्
जुँघाको लडाइँमा,
इर्श्या र वदलाका खेतीमा।

त्यसैले हे नववर्ष!
तिमी निश्छलता,सुन्दरता,त्याग र विवेकको
पार्सल लिएर आऊ
देशभक्त भिमसेनका साथमा,
तिमी बुध्द लिएर आऊ,गान्धी लिएर आऊ
प्रत्येक नेपालीका घरआँगनमा
विवेक बाँड्दै आऊ
सद्भावको उज्यालो छर्दै आऊ
आऊ नव वर्ष ! तिमीलाई स्वागत छ।

- कृष्णप्रसाद गौतम
सल्लाहकार,
विनेसाम १ नं प्रदेश
इटहरी ५
सुनसरी,नेपाल।