साप्ताहिक सिर्जना (अंक-१९ ) : कविता "मन”- ज्योति कुमार श्रेष्ठ

कविता
"मन: दुई कविताहरु"

(१)

म यो सहर भित्र
एउटा सहर खोजिरहेछु
तिमी र म अटाउने
रहर बोकी रहेछु
छिर्के हान्ने, खुट्टा तान्ने
र धारे हात लगाउने होईन
भत्किन भत्किनै लागेको बेला
भत्किन नपाउदै
मन जोडिदिने साथ खोजिरहेछु...

(२)

यो मन
कसैको नभा'को मन
मेरै मन
घरी-घरी चस्स दु:ख्ने
कहिले फुरुङ्ग हुने
न्यूयोर्कको मौसम जस्तो
एकै छिन खुल्ला आकाश हुने
अलि पछि हिउँ अनि पानी पर्ने
आज गर्मी त भोलि जाडो
कुनै-कुनै बेला त
बुझ्न र बुझाउन नै गाह्रो
यो मन
कसैको नभा'को मन
मेरै मन ।

- ज्योतिकुमार श्रेष्ठ, न्यूयोर्क ।