![](https://freenepal.com/sites/default/files/styles/medium/public/field/image/Amar_Caption03.jpg?itok=a6KUKhhH)
संस्मरण लेख
"इन्द्र माली : श्रद्दा सुमन"
यही मे ६, २०२१ अर्थात् २०७८ साल बैशाख २३ गते साँँझ ८:३० बजे (भारतको समय) अमेरिकाको बिहान ११ बजे ५२ वर्ष अगाडि दोलखाको भीम माध्यमिक विद्यालयमा प्रधानाध्यापक भई ४ वर्ष कार्यरत पुष्पमान जोशीको आयोजनामा जुम मिटिङ्ग भएको थियो । जसमा नेपालबाट बद्रीमान सिंह, प्रा अमन श्रेष्ठ, तीर्थनारायण मानन्धर, प्रदीप मानन्धर, जानकी कर्माचार्य अमेरिकाबाट ज्ञानेन्द्रबहादुर सिंह, यज्ञबहादुर खड्का, डा. मधुकृष्ण श्रेष्ठ “माधुर्य” र भारतबाट म सहभागी थियौ । भर्चुएल मिटिगमा धेरैवर्ष पछि भेटघाट गर्न पाइरहेको अवसरमा मैले दुखद समाचार सुनाएँ आज दुईजना प्रतिभाहरु प्रसिद्ध गायक प्रेमध्वज प्रधान र नेपाल भाषा (नेवारी) नेपाली साहित्यका सर्जक इन्द्रमालीको निधन भएको छ ।
इन्द्र मालीसंग मेरो परिचय चिंकमुगल काठमाडौमा भएको थियो । मेरो घरबेटी बुद्धरत्न मान्नधर (नेपाली भाषाका प्रसिद्ध कवि, बुद्ध सायमि) हुनुहुन्थ्यो । मालीजी बुद्ध दाइको साथी । मेरा लागि दुवैजना आदरणीय थिए । म दुबैलाई दाइ भनेर सम्बौधन गर्दथें । चिंकमुगल बसाइ १५ वर्षको रह्यो । बुद्ध दाइ र मलाई दाजुभाइ अनि सरिता भाउजु र मेरी श्रीम्ती शशीलाई दिदीबहिनी ठान्थे छरछिमकहरु ।
इन्द्र मालीको नेपाल सम्वत् १०६५ भदौ (२००२ साल) मा जन्म भएको थियो । इन्द्रबहादुर माली छोटोमा इन्द्र मालीको नामले नेपाल भाषा र नेपाली साहित्यमा प्रसिद्धि पाए । मालीका बाबु पद्मबहादुर माली र आमा हरिमाया माली थिए । त्रिभुवन विश्व विद्यालयबाट एम् ए गरी नेपाल सरकारको नोकरीमा प्रवेश गरे पश्चात् फिलिपीन्स सरकारी विश्व विद्यालयबाट एम्. एस् अध्ययन पुरा गर्ने मौका पाएका थिए । जागीरको दौरानमा विभिन्न कार्यालयमा अधिकृत भई सेवा गरी पदोन्नति हुदै सहसचिव पदबाट उमेरको हद (५८ वर्ष) को कारणले सेवा निवृत भए । उन्ले ताहाचल प्राइभेट क्याम्पस स्थापना गरी सो क्याम्पसको प्रमुख भएर शैक्षिक क्षेत्रमा योगदान गरेका थिए । नेपाल बहुजाती, बहुभाषी, बहुल र्संस्कृति सम्पन्न देश हो, जहा १२५ जात १२३ भाषा छन् । आम नेपाली बीच बोलिने र बुझिने मूल भाषा नेपाली हो, तथापि नेवारहरुको नेपाल भाषा समृद्ध छ । इन्द्र मालीको कलम दुवै भाषामा चल्दथ्यो । नेपाल भाषा (नेवारी भाषा) मा प्रकाशित उन्का पुस्तकहरु यी हु्न् :
१ न्हुपुखुली कसा :या ख्वा:पा :
२ झिगु भाय् : झीगु खग्व
३ दोलखा भाषा व छु
४ पहरी भाषिका : छगू अध्ययन
५ झीगु मा भाय् म्हिग व थौ
६ पुलागी कसी : न्हूगु दापू
७ विद्रोही कवि बुद्ध सायमि
८ नेपाल भाषाया माध्यमिक काल या छु
उनीद्वारा सम्पादित ग्रन्थहरु ह्ुन् :
१ नेपाल भाषानिबन्ध पुच
२ नेपाल भाषा कविता सङ्ग्रह
३ कुचा कुचागु किपा दुने स्व.इन्द्र माली
जीवनको उत्तरार्धमा उनी नेपाल भाषा एकेडेमीमा सस्थापक सचिब भए, जसको चान्सलर वर्तमान वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी हुनु भएको थियो । नेपाल भाषा एकेडेमी भाद्र २१ ,२०५६ मा स्थापना भएको हो। एकेडेमीका सस्थापक पार्षदहरुमा दोलखाबाट मलाई राखियो । यही नाताले म ३ कार्यकाल कार्य समितिको सदस्य भई यत्किञ्चित सेवा गर्न पाइयो । यो अवसरको लागि म इन्द्र मालीप्रति सदैव आभारी छु ।
सत्यमोहन जोशीको नेतृत्व तथा इन्द्र मालीको सक्रियतामा साथ दिने इतिहासकार चित्तरञ्जन नेपाली, पत्रकार लेखक मल्ल के सुन्दर, सस्कृतिविद् ज्ञानकाजी मानन्धर, साहित्यकार शिक्षाविद् लक्ष्मण राजबंशी, उद्योगपति लक्ष्मीदास मानन्धर, भाषविद् काशीनाथ तमोट, कथाकार राजा शाक्य आदि थिए । धेरैको साथ सहयाग जुटाई कीर्तिपुरमा एकेडेमीको आफ्नै भवन निर्माण भयो । सो भवनमा राष्टिय विभूति कलाकार अरनिकोको पूर्ण कदको सालिक थापना गरी अरनिको भवन नामाकरण गरियो । कालान्तरमा यही भवनबाट नेपाल भाषामा नेवा एफ्. एम्. रेडियो प्रसारण गर्न थालियो, जसको लागि सञ्चार तथा सूचना मन्त्रालयबाट लाइसेन्स लिनु र बर्सेनी नवीकरण गर्नु पर्दथ्यो । म उपसचिव भएपछि जलस्रोत मन्त्रालयमा खटिएँ । सिंहदरबार भित्रका कार्यालयमा आवतजावत गर्न कर्मचारीइतरका लागि प्रवेश पास चाहिने अवस्थामा एफ् एम् सम्बधित कार्य मलाई सुम्पिएको थियो ।
एकेडेमीको कार्य समितिको बैठकमा सहभागी हुदा म नेपाल भाषा बुझे पनि दोलखा नेवार भाषा बोल्दथे । दोलखा भाषा् अध्ययन अनुसन्धान गरी २०३५ सालमा दोलखा भाषा व छु ग्रन्थका स्रष्टा इन्द्र मालीको कारण सहज हुन्थ्यो । जीव जिगु वर्तमान कविता सङ्ग्रहका स्रष्टा बुद्ध सायमिको व्यक्तित्व र कृतित्व परिशिलन गरिएको सिङ्गो ग्रन्थ : २०५४ सालमा प्रकाशित भयो जसको शीर्षक छ विद्रोही कवि बुद्ध सायमि । नेपाली भाषा मा उन्का फुटकर रचनाहरु प्रशस्त छन् ।
नेपाल भाषाका शब्दहरु निकै कष्टसाध्य मिहेनत पूर्वक सङ्कलन र सम्पादन गरी उनले नेपाल भाषाको बृहत् शब्दकोश नेपाल भाषा एकेडेमीबाट प्रकाशित गरेका थिए ।
नेपालभाषा एकेडेमीबाट प्रकाशित म्हसीका धल : (सङ्कलक फणीन्द्ररत्न बज्राचार्य) मा इन्द्र मालीको परिचय दिदै डा. चुन्दा बज्राचार्यको भनाइ उद्धृत गरिएको छ : अध्ययन, क्षमता र पारख प्रस्तुति गर्न सक्ने, चिन्तनशील अध्ययनशील स्पष्टवक्ता निर्धक्क विचार राख्ने निर्णय दिने समाजशास्त्रीय समालोचना तर्फ उन्मुख सर्जक ।
निबन्ध लेखनका लागि २०३० सालमा श्रेष्ठ सिरपा, यसै गरी सलाइ बट्टा शीर्षक निबन्धका लागि नगद पुरस्कार पनि पाएका माली सुशील शान्त र सहयोगी स्वभाव का थिए । ४ वर्ष अगाडि बुद्ध सायमिको निधन पश्चात् एक्लो अनुभूत गर्न लागेका माली मुटुको रोगी थिए । उपचार चल्दै गद िअहिलेको महामारी कोभिड २०१९ (कोरोना) बाट सङ्क्रमित भएपछि उन्को नश्वर देह सदाको लागि विसर्जन भयो । शोकाकुल परिवारजनमा समवेदना दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली π
अमरकुमार प्रधान
दोलखा
हाल:मुम्बई