After the Season Back

रञ्जना उदास

जन्मस्थल: भोजपुर

शिक्षा: स्कूलको शिक्षा भोजपुरमा ने सम्पन्न र भोजपुर, विराटनगर तथा काठमाडौंमा कलेजको शिक्षा । पाकिस्तानको पेशावरस्थित नर्थवेस्ट फ्रन्टियर युनिभर्सिटी र पछि बेलुचिस्तान विश्वविद्यालयबाट इन्टरनेशनल रिलेशन विषयमा डिगी प्राप्त ।

बसाइँ: पाकिस्तान, इटली (रोम), अर्मेनिया (येरेभान), स्वीटजरल्याण्ड (जेनेभा), जोर्डन, रुस (मास्को) । यसका अतिरिक्त विश्वका विभिन्न देशहरुको यात्राभ्रमण । हाल मास्कोमा ।
व्यक्तित्व : भोजपुरको स्कूलमा पढ्दाखेरि नै सात आठ कक्षादेखि कविता लेखन, वि.सं. २०२७ तिर स्कूलको प्रभात भनिने भित्तेपत्रिकामा कविता देखा परेको, वि.सं. २०३० तिर मधुपर्कमा स्वास्नस्मान्छे शीर्षकमा पहिलो कविता प्रकाशन, त्यसपछि गोरखापत्रमा गीत, मातृभूमिमा शरणार्थी र भोजपुर तथा विराटनगरका स्थानीय पत्रपत्रिकामा पनि कविताहरुको प्रकाशन । नेपाल टेलिभिजनबाट पाकिस्तानी प्रधानमन्त्री बेनजीर भुटृोप्रति समर्पित कविता पूर्वकी छोरी लगात मेरो छोरो र अन्य कविताहरुको वाचन । कोसेली पत्रिकामा ऋतु फर्केपछि शीर्षकको लेख र मातृभूमि साप्ताहिकमा नेपाल र पाकिस्तानको नारीजीवनको सम्बन्धमा अन्तवार्ता प्रकाशन ।

प्रस्तुत कविता ऋतु फर्केपछि मास्को वसाइँकालको एक रचना हो ।

कविता

रञ्जना उदास

ऋतु फर्केपछि

घामले छोएका दिनहरु

आँगन र संघारहरुबाट उक्लँदै

मेरो जिन्दगी

ऋतु फर्कने प्रतीक्षा गर्छ ।

गनेर इन्द्रधनुका रंगहरु

नाप्न खोज्दै सूर्यका किरणहरु

धर्साधर्सी अरु थाुपरिएछन् चेहरामा

तैपनि म,

बदलिने ऋतुको पर्खाइमा

टीकाटिप्पणी गर्ने गर्छु ।

यो माघ,

जाडो अति: पोहोर थिएन

चैतको हुरी नमिठो:पहिले यस्तो भएन

अति झर्किला बर्षात

डाँडापाखा बगायो

पहिराले छोपेछन् बस्तीहरु

विध्वंश यस्तो पहिले भएन ।

अति चर्केछ गर्मी

व्यग्रताले जीवन पग्लिन थाल्यो

पहेंलिएछन् रुखहरु

गोधुली साँझ जस्तो

गृष्मको घामपछि

शरद्को छोटो यात्रा

रातले छोपेर रंगहरुलाई ।

सेताम्मे भएछन् आँगन

हिउँ झरेर

रुख र हाँगाहरुमा हिउँ फुलेछ

कठ्यांग्रिन थाल्यो मन:

हाँगाबिंगा उमार्दै,

कति उराठिला लामा रात र दिनहरु

जिन्दगी बितासिन थाल्यो ।

थोरै हुन्छन् वसन्तका दिनहरु

थोरै फुलेछन् रंगीबिरंगी फूलहरु

किन छोटो हुन्छ हर साल वसन्त

कहीं आरु, कहीं साकुरा र

कहीं गुराँस भएर फुल्छ,

डाँडाकाँडाले रंग फेरेछ

ओढेर फूलका रंगहरु

फूलको महक लिंदै: बहेछ हावा

फेरि ऋतु फर्केपछि ।

१५ मार्च २००१

मास्को ।