The first known poet Anuparam (Research article in Nepali) : Krishna Prakash Shrestha
नेपालका प्रथम ज्ञात कवि अनुपरम
कृष्णप्रकाश श्रेष्ठ
नेपालमा लिखित साहित्यको रचना लिच्छविकालदेखि नै अस्तित्वमा रहेको प्रमाण काठमाडौं उपत्यका र त्यसको सेरोफेरोमा उपलव्ध भएका दशौं शिलापत्रहरुले दिइरहेका छन् । प्राचीन यस्ता शिलापत्रहरु तिथिमितिसहि लिच्छवि राजा मानदेवको शासनकालतिरका मानिन्छन् । नेपाली विद्वान् धनबज्र बज्राचार्यले चाबहिलमा प्राप्त बौद्धचैत्यको वर्णन गरिएको खण्डित एक शिलालेखलाई लिपिको आधारमा मानदेवभन्दा पहिलेका राजा वृषदेवको समयको हुन सक्ने संकेत दिएका छन् (बज्राचार्य, २०३०. पृ. ३) ।
प्राचीन शिलापत्रहरुको अध्ययनबाट नेपालमा लिच्छविकालमा नै संस्कृत भाषामा विभिन्न शास्त्रीय छन्दहरुमा देवदेवीहरुको स्तुतिका अतिरिक्त चैत्य र मन्दिर निर्माण, विभिन्न उत्सवपर्वहरुको व्यवस्था, गुठीको प्रबन्ध, दानदातव्य तथा राजाहरुको वर्णन र वंशावली आदि धार्मिक र सामाजिक विषयवस्तुबारे पनि पद्यरचना भएको पाइन्छ । यस्ता अभिलेखहरुमा प्रयुक्त अनुप्रास आदि मात्र नभई शव्दविन्यास, उपमा र अलंकारको प्रयोग आदिमा पनि रचनाकारहरुको साहित्यिक दक्षताको बोध हुन्छ । तर अधिकांश शिलाभिलेखहरुमा दाता र तत्कालीन शासकको नाम उल्लेख भए तापनि रचनाकारको नाम चाहिं अज्ञात नै रहेको पाइन्छ । ,,संस्कृतमा लेख्ने पहिला ज्ञात नेपाली कवि अनुपरम (मृत्यु ः ई.सं. ५४०) थिए । उनले एउटा स्तुतिकाव्यको रचना गरेका थिए, तर त्यो स्तुति देवदेवी वा राजाप्रति समर्पित थिएन, बरु वेदहरुको वर्गीकरण गरेको हुनाले वेदव्यास भनी प्रसिद्ध भएका पौराणिक महर्षि द्वैपायनप्रति समर्पित थियो,, (श्रेष्ठ, २००१, पृ. ९४) ।
रचनाकारको नाम स्पष्ट अंकित पहिलो शिलाभिलेख हो ः हाँडिगाउँस्थित नारायणस्थानसामुन्ने स्थापित गरुडस्तम्भको पूर्व पाटामा कुँदिएको खण्डित अभिलेख । यस शिलाभिलेखको माथिल्लो भाग निकै खण्डित भए तापनि यो शिलाभिलेख साहित्यिक दृष्टिले ज्यादै महत्वपूर्ण छ । समयको मारमा परेर शुरुका केही श्लोकहरु अस्पष्ट छ, यद्यपि ३४ श्लोकको यो खण्डित अभिलेखको विशेषता के हो भने यसमा देवदेवी र राजाहरुको स्तुतिगान गरिएको नभई प्राचीन कालका एक प्रकाण्ड विद्वान् अर्थात् वेदहरुको वर्गीकरण गरेको हुनाले ,,वेदव्यास,, भन्ने नामले विख्यात महाभारत ग्रन्थका रचनाकार मानिने महर्षि द्वैपायनको स्तुतिगान गर्नुका साथै वैदिक धर्म र दर्शनको गुणगान गरिएको छ । ,,लिपिको दृष्टिले यो अभिलेख राजा मानदेवको लगत्तै पछाडिको अर्थात् वसन्तदेवको ताकाको हो भन्ने देखिन्छ,, (बज्राचार्य, २०३०. पृ. १६२) भन्ने धनबज्र बर्जाचार्यको राय छ ।
अर्का नेपाली विद्वान् जगदीशचन्द्र रेग्मीको भनाइअनुसार यो अभिलेख ,,वेदव्यासको स्तुतिमा लेखिएको हुँदा यसको मूल उद्देश्य दार्शनिक छ । वेदका द्रष्टा र महाभारतका लेखककोै रुपमा वेदव्यासको महत्व मानी अनुपरमले तिनलाई यस संसारमा धर्मको महत्व थाप्ने महापुरुषका रुपमा देखेका छन् । वेद र महाभारतसंग जोडिएका वेदव्यासको स्तुति गर्ने दार्शनिक अनुपरम आपैm पनि ती दुवै महान् रचनाका तत्व जान्ने व्यक्तिका रुपमा देखिन आउँछन् । नास्तिक दर्शनको विरोधमा लेखिएको यो स्तोत्र अभिलेख वेद र महाभारत जस्ता इतिहासका सबै जुगमा व्यापिएका ग्रन्थहरुका संग्रहकर्ता र लेखकका रुपमा वेदव्यासको स्तुति गरी स्थायी ,धर्म, को प्रतिपादन गर्न अघि सरेको महान् ऐतिहासिक रचना हो । भारतीय इतिहासका कुनै जुगमा यति राम्ररी, छोटकरीबाट सद्धर्मको प्रतिपादनका लापग थालिएको यस्तै अभिलेखसाहित्य नपाउँदा लिच्छविकालीन संस्कृतिको एउटा गहकिलो मर्म थाहा पाइन्छ,, (रेग्मी, २०४०, पृ. ८९) ।
यस गरुडस्तम्भमा कुंदिएको पद्यरचनाका लेखक अनुपरम भन्ने कुनै कवि हुन् भन्ने संकेत अन्तिम ७३रौं पंक्तिमा उत्कीर्ण निम्न वाक्यबाट पाइन्छ ः ,,भगवतो द्वैपायनस्य स्तोत्रड.्कृतमनुपरमेण,, (अनुपरमले भगवान् द्वैपायनको स्तोत्रको रचना गरे) । किन्तु यत्तिकै सूचनाको आधारमा यस अभिलेखमा आप्mनो नाम समेत उत्कीर्ण गराउने कवि अनुपरम को थिए भन्ने स्पष्ट हुँदैन । यस प्रश्नको उत्तर पशुपतिनाथको मन्दिरदेखि दक्षिणपटिृ (चौ.सठ्ठीलिंगदेखि अलि तल्तिर वत्सलाको मन्दिरदेखि पश्चिमपटिृ) प्राप्त भौमगुप्तकी आमा आभीरी गोमिनीले आप्mना स्वर्गीय पतिको नाममा अनुपरमेश्वर भन्ने नामले शिवलिंग स्थापना गरेको बेहोरा उल्लिखित अभिलेखबाट घुमाउरो किसिमले पाउन सकिन्छ । सम्बत् ४६२ (ई.सं. ५४०) मा स्थापित शिवलिंगको पादपीठको अभिलेखबाट अनुपरम नामका कवि ,,लिच्छविकालका एक प्रसिद्ध सहायक शासक भौमगुप्तका पिता,, (बज्राचार्य, २०३०. पृ. १६२) हुन् भन्ने स्पष्ट हुन आएको छ । यसरी संम्बत् ४६२ मा कवि अनुपरमको देहान्त भइसकेको थियो र तसर्थ उनले उक्त द्वैपायन स्तोत्रको रचना कहिले गरेका थिए भन्ने अनुमान ,,परोक्ष प्रमाणको आधारमा मात्र लगाउन सकिन्छ र त्यो सन् ५१५ देखि ५२० को समयावधिभित्र रचिएको थियो,, (श्रेष्ठ, २००१, पृ. ९५) ।
आभीर गुप्तहरु वैदिक धर्मका अनुयायी थिए र उनीहरु आपूmलाई ,,गोमी,, पनि भन्दथे । गोमीको अर्थ हुन्छ गाई पाल्ने व्यक्ति (मातातीर्थ थानकोट भेकतिर यस प्राचीन आभीर वंशका सन्ततिहरु अद्यापि छन् जो आपूmलाई गोपाल भन्ने गर्दछन्) । आभीरी गोमिनीको अभिलेखबाट कवि अनुपरम आभीर वंशका थिए भन्ने अनुमान हुन्छ । त्यस अभिलेखमा आभीरी गोमिनीले तत्कालीन प्रचलनअनुसार पतिको नामोल्लेख नगरे तापनि आप्mना ससुरा र छोराको नाम चाहिं उल्लेख गरेकी छिन् । यसबाट अनुपरम भौमगुप्तका पिता र परमाभिमानी (यो नाम नभएर विशेषण पनि हुने सम्भावना छ ः श्रेष्ठ) नामका कुनै प्रतिष्ठित व्यक्तिका पुत्र हुन् भन्ने थाहा पाइन्छ । आभीरहरुले गुप्तका साथै गोमी पनि कहलाइएका हुनाले अनुपरमकी आमाले आभिरी गोमिनी भनी आप्mनो परिचय दिइकी होलिन् । उनले पतिको तर्फबाट आप्mनो कुलनाम (जाति) को उल्लेख गरे तापनि व्यक्तिवाचक नामको चाहिं उल्लेख गरेकी छैनन् । केवलपुरमा प्राप्त अर्को एक अभिलेखमा भौमगुप्तका जेठा बाबु अर्थात् अनुपरमका दाजुको नाम मानगुप्त बताइनुका साथै उनलाई ,,गोमी,, ( बज्राचार्य, २०३०, पृ. १७३) भनेर स्पष्ट लेखिएको छ र यसै आधारमा अनुपरम नामको अन्त्यमा कुलनामको रुपमा गुप्त वा गोमी लेख्न सकिने अनुमान हुन्छ । भनाइको तात्पर्य के हो भने कवि अनुपरम पनि गुप्त वा गोमी कुलनामधारी आभीर वंशका हुन् । उनले द्वैपायन स्तोत्रको रचना गरी वेदान्त दर्शनप्रति आप्mनो आस्थाको प्रदर्शन गरेका थिए ।
वैदिक परम्पराका अनुयायी कवि अनुपरमले यस स्तम्भलेखमा ,,नास्तिक, कुतार्किक, मूर्ख, कुमति आदि शव्दको प्रयोग गरी बौद्धहरुको निन्दा,, गरेको कुरा मननीय छ । लिच्छविकालमा नेपालमा बौद्धधर्मको प्रचार र प्रभाव निकै बढी थियो र वैदिक धर्मका अनुयायीहरु र बोद्धधर्मावलम्बीहरुबीच वादविवाद चल्दथ्यो भन्ने तथ्यको उद्घाटन यस शिलाभिलेखबाट हुन्छ । उदार धार्मिक भावनाले प्रश्रय पाएको नेपालमा, धनबज्र बज्राचार्यको मतानुसार ,,... शास्त्रार्थकोरुपमा खण्डनमण्डन गर्ने परम्पराको रुपमा मात्र यो भावना सीमित थियो । जनतासम्म धार्मिक कलहले स्थान पाएको उदाहरण हाम्रो यहाँ पाईंदैन,, (बज्राचार्य, २०३०, पृ. १६३ ः १६४० । जे होस्, नेपाली विद्वान् जगदीशचन्द्र रेग्मीले अनुपरमलाई ,,कविदार्शनिक,, भन्ने उपाधि प्रदान गर्दै उनका कृतिमा ,,दार्शनिक गहनता बाहेक साहित्यिक स्वरुप र आन्तरिक भाव समेत प्रष्टिन खोजेको,, कुरा जनाउँदै लेखेका छन् ः ,,उपयुक्त शव्दहरुको प्रयोगमा उनको सीप हाम्रो कानले प्रष्टै थाहा पाउँछ र यसका रचयिताको महत्वबारे निर्णय दिन थाल्दछ,, (रेग्मी, २०४०, पृ. ९०) ।
यस महत्वपूर्ण अभिलेखको माथिल्लो भाग निकै खिइएको हुँदा प्राचीन कालको एक अनुपम साहित्यिक कृतिको आंशिक मात्र रसास्वादन गर्ने हामीले सम्भावना पाएका छौं । तर ,,प्रौढ लेखनशैली, दार्शनिक विचारधारा आदिको दृष्टिले,, नेपालका प्रथम ज्ञात साहित्यकारको ईशाको छैटौं शताव्दीको मध्यतिर रचिएको खण्डित कृति पनि नेपाली विद्वान् धनबज्र बर्जाचार्यले जनाइझैं ,,उच्चकोटिको मानिएको छ,, (बज्राचार्य, २०३०, पृ. १६२) ।
सन्दर्भ ग्रन्थसूची
बज्राचार्य, २०३० ः धनबज्र बज्राचार्य, लिच्छविकालका अभिलेख । नेपाल र एशियाली अध्ययन संस्थान, काठमाडौं, वि.सं. २०३० ।
रेग्मी, २०४० ः जगदीशचन्द्र रेग्मी, प्राचीन नेपाली संस्कृति । साझा प्रकाशन, काठमाडौं, वि.सं. २०४० ।
श्रेष्ठ, २००१ ः कृष्णप्रकाश श्रेष्ठ, नेपालको साहित्यमा परम्परा र आधुनिकता । मास्को ः सेन्टपिटर्सबुर्ग, ई.सं. २ ००१ । (रुसी भाषामा)