Quantum poem: I'll rise ...

क्वान्टम-कविता

अब उठ्छु म माटोसँगै ...

- मधु माधुर्य

सबथोक भएर पनि केहि नभएकोजस्तो
हाम्रो संस्कारले -
देशले भिख माग्दामाग्दा भिखारी बनेको
मेरो मनस्थिति
आज १८० डिग्रीमा फनक्क घुमेको छ
र दृश्य र मान्यताहरुको उलटपुलट
शुरु हुनै लागेको छ ...

"मोराले मन्दिरै भत्काउने पो हो कि"

भगवान थरर काम्दै हिंडीरहेछ मेरो सामु

पशुपतिनाथको देशमा

उसको छाडा बसाहा भन्दा पनि उद्दण्ड भैरहेछु

मृत्यु नै मेरो देह-रक्षक भई सकेपछि

मैले कुन मूल्यमा अब कोसंग डराउनु पर्यो ?

प्राकृतिक रेफ्रिजेरेटर खोलेर
लेकको पहरामा फलेको ताजा भीर-मह खान्छु;
कृष्ण-सागर तर्दा चकमक हराएछ
जुनकिरी अटेरी भएकी बेला-

एक झिल्को आगो खोज्न
अरिंगालको गोलामा हात पसार्छु

मनोरंजन बिनाको जीवन पनि जीवन ?

गोमनको टाउकामा चढेर
बिच्छीहरुको रेस्लिंग हेर्छु
गैंडा चढेर गोहि र घोरलहरुको जल-क्रिडा हेर्छु
बिरेनून भनेर नाईट्रिकसाइनाइड खाएछु

कति नमीठो छ्या - तीतो/ दुर्गन्धित !
मह र विष जुधेर "हेंगओभर" भएछ क्यार
मातेर सुनखानीको भीरबाट "डाइभिंग" गर्दा
तामाकोशीको पिंध स्पर्श भएछ -

त्यहाँ सालिग्राममाथि शार्क पो निदाई रहेछ

माछा निदाउंदा आँखा किन हो खुला छ ?

आफ्नै जीउमा सम्भावनाका पखेटा पलाएपछि
यात्राको रहरलाई पिंजडाभित्रको सुगा बनाउने किन ?
आँखाले नदेखेको ग्रह-उपग्रह घुमफिर गर्छु सपनीमा

गाउँ-शहर फर्कदा विपनीमा
उही बेहाल छ देशमा :

निमुखाको लागि अझै गास, बास, कपास छैन
नवगठित सरकारै छैन, नयाँ सम्बिधानै छैन
दक्षिणमा १०-२० ओटा दशगजा छैनन्
पूर्ण कपिलवस्तु र भलो गर्ने पशुपति छैनन्

लोड-शेडिंग भएरै हो त ?
लोकतन्त्रको मुख उज्यालो छैन
नेपालमा सिंहदरबार त छ
सिंहदरबारमा नेपाल छैन
देश-चलाउनेहरुको बथान त छ

तर त्यो बथानमा नेपाली छैन

दुतावासको कर्मचारी मसंग सभासद भनी झुक्किएछ

मार्छु भनी दिएको धमासको कुनै लेखाजोखा छैन

डण्डीफोरले उमेरमै हिरोसिमा र नागासाकी बनाइ सकेको
मेरो आदिम गालामा प्रेमछाप लगाउन
प्रेमिका " आइ लभ यु " भन्दै झुन्डिन खोज्छे
मेरो घोचो जस्तो " स्लिम"/सुरिलो जिउमाथि
तर सक्दिनन्
मेरो देह-रक्षकले मृत्यु-डण्डी देखाउंदै
मबाट तिनलाई पन्छाई रहेछ
आक्रामक प्रेम-प्रकोपबाट बचाउन हो कि !

तैपनि किन डराई रहेछु म आफ्नै देशमा ?

टुलुटुलु मुकदर्शक हुँदै एउटा अप्रिय दृश्यको -
"मानचित्रमा क्रमश देश हराई रहेछ"

अर्थात् अब गुराँस हाम्रोलागि नफुल्न सक्छ
डाँफेको नाचगान हाम्रोलागि नहुन सक्छ
पृथ्वीमा घामको पहिलो झुल्को हाम्रो नहुन सक्छ
मेची-कोशी-महाकाली हाम्रालागि नबग्न सक्छन्
हाम्रै पहिरन, बोली भोली हाम्रा नहुन सक्छन्

अर्थात् हामी हामी नहुन सक्छौं
हाम्रो छाया हाम्रो नहुन सक्छ

हेर्दा-हेर्दै सिंहदरबार देशको हुन छाड्यो
हेर्दा-हेर्दै देशको मान्छे देशको हुन छाड्यो

कोहि न कोहि देशको हुन छाड्ने हैजा चलेजस्तो छ यहाँ

दिन-दहाडै

प्रताप मल्लको काठमान्डुमा
पिशाच (भेमपाएर्) हरुको समेत नराम्रो दुर्गन्ध आइरहेछ ....
कि विभत्स चलचित्रमा जस्तै पिशाचहरुले मान्छेलाई टोक्दै छन् ?

र टोकिएका सबै फेरी पिशाचमा रुपान्तरित हुदैछन् ?

के हामी सबै पिशाचका उमेदवारहरु हौँ ?

कि हामी अझै सग्ला / जिउँदा छौं ?

यसरि त कहाँ हुन्छ र बाँच्न ?

कसले सिकायो यसरी बाँच्न ?

के म जिउंदै छु यो पिशाचको लस्कर घुम्ने देशमा ?

के म जिउंदै छु जनता र देश गुम्ने समयमा ?

म मेरो अस्तित्व परिक्षण गराउन

प्रयोगशाला जान्छु ज्ञान- विज्ञानको -
रगतमा पिशाच-अणुको उपस्थिति "नेगेटिभ" देखियो
तन्तुमा नेपाल र कोष-कोषमा नेपाली भेटियो

उठें म, म जस्तै मान्छे खोज्न
उठें म, म जस्तै मनहरु खोज्न
हजारौं सहिद, वीरविरंगनाहरुले
छाडेर गएको
अमर क्वान्टममा
म ब्युझिसकेको रहेछु
खिया लागेको खुकुरी उद्यौने
वा चुडिएको घुएत्रो जोड्ने
समय यो होइन

परमाणुबमको भकुण्डो हान्ने

लेजरबिमको गुलेली सोझ्याउने

समय यो होइन
यो आँट /आत्मविश्वासको समय हो
यो सहि निर्णय / अन्तिम जन- विजयको समय हो
विश्वास भन्दा अग्लो सगरमाथा हुनै सक्दैन

विश्वास भन्दा अग्लो कुनै अर्को सोचाई हुनै सक्दैन
हामी त नेपाली हौँ नी !

कहाँ कसले उडाउन खोज्दैछ -
नेपालीको स्वाधिनताको बिश्वास ?
सार्वभौम नेपालको विश्वास ?

देश-प्रेममा नेपालको बिश्वास ?

त्यो विश्वासको झन्डा अझै सफा होस्
बिहानको नीलिमा जस्तै
कुनै कालो दागबिहिन....
कुहिरोबिहिन...

काला-धमिला आकृतिबिहिन...

ए पिशाचहरु !
तिमीहरुको निधारमा
मएउटा जरुरी सूचना टाँगीदिन्छु -

" तिमीहरुलाई टोक्नेले
तिमीलाई शरण दिएन भने

तिमिहरु यहि माटोमा बस
जहाँ तिम्रो जन्म भयो,

र मान्छेलाई नटोक

माटोलाई नचिथोर !.."

मृत्तकहरु मार्न
म को हुँ र ?

किरा-फट्यांग्रा नमार भन्ने
मान्छे म
भो तिमीहरुलाई पनि मार्दिन
जुन दिन तिमीहरुको
एक सुकामा बिक्रि भएको थियो
त्यहिबेला तिमीहरुको मृत्यु भैसकेको थियो !

अभाव, दुख र मृत्यु नै मेरो देह-रक्षक भई सकेपछि

मैले कुन मुल्यमा अब कोसंग डराउनु पर्यो ?
पाइला बढाउछु
निर्धक्क म देशको माटो समाउँछु
झ्याली पिट्छु म -
यो देश नेपाल हुनुपर्छ
यो देश संधै मेरो /हाम्रो हुनुपर्छ
आकाश-धर्ति साक्षी राखेर
देशको माटो छोएर
म यो देशको पुनर्घोषणा गर्दै छु:

यो देश नेपाल हो
स्वर्ग टल्किन सक्छ

हिमाल उठेर पनि


तराइ फैलिन सक्छ !यहाँको आदिबासी

नेपाली हुँ
केहि नभएपनि आफुसँग
देशकोलागी -
आफैलाई आहुति दिन सक्छु म !