दुई गजलहरु
गजल-१
=====
शब्द शब्दमा संगीतले आज बोलाउँदै छ ।
कसैको याद यो मनको माझ टोलाउँदैछ ।।
जति भुल्छु भन्यो त्यो निर्मोही मायालाई ।
किन सम्झी उसैलाई यो साँझ मौलाउँदैछ ।।
सबै हिजो छोडेर आजलाई सजाउँछन् ।
यो मनको बगैचामा बिगतको याद फैलाउँदैछ ।।
जे जे हुने भै नै सक्यो दिल तोडेर गै नै सक्यो ।
निष्ठुरीलाई सम्झी किन हरि खास बौलाउँदैछ ।।
गजल-२
=====
मायाको परिभाषा जान्न माया गर्नु ज़रूरी छ
एकअर्काको सथी बन्न भर पर्नु ज़रूरी छ ।
घर ठुलो कुरा होइन ढुंगामाटोले पुग्छ
घर भित्र सुखी परिवार बस्नु जरुरी छ ।
खुबै धन कमायर मै हूँ भन्ने घमण्डीले
धन कसैको सधैं हुन्न कुरा बुझ्नु ज़रूरी छ ।
उमेरबैंस सधैं रहन्न एकदिन ओइली जानेहो
फक्रिएर फुल झर्छ जीवन ढल्नु ज़रूरी छ ।
सोच विचार गरौं आज हामीले के गर्दैछौं
दिव्य चक्षु ज्ञानको ज्योति बाल्नु ज़रूरी छ ।।
- हरिमाया अधिकारी खतिवडा
कंकर्ड, न्यूह्याम्पशायर,अमेरिका