साप्ताहिक सिर्जना (अंक-६ ) :कविता “मोनालिसा र म”

कविता

"मोनालिसा र म"

मोनालिसा!
सबैको कौतूहलताको जागृति जगाउंदै
उत्सुकताको बाढि बगाउंदै र
फक्रिन लागेका गुलाबका पत्र-पत्र झैं
निरन्तर निश्वार्थ नविनता छर्दै
तिम्रो मनमोहक मन्दमुस्कानले
पुर्णदृष्टिमा भर्न
मात्र एक शालीन दृश्यकालागी
ललायित हुने नजरहरुलाई
आकर्षित गर्दै, आज पनि कयौंलाई
आफुतिर डोर्याउंदै छन सदियौं देखि

साप्ताहिक सिर्जना (अंक-५ ) :गजल “मान्छे एकै त हो...”

गजल

मान्छे एकै त हो प्राणी तर मै जान्ने नठान,
शक्ति सबैमा हुन्छ बलिया मै जान्ने नठान ।

विद्या धेरथोर होलान् यो जगतको लीला,
बाटो एउटै नै हो दीक्षामा मै जान्ने नठान ।

शिक्षामा निपुण त होलान् कोही केहीजन,
हरेक कला साधनामा नि मै जान्ने नठान ।

समय त चक्र हो एक सीमाक्षेत्र परिधिको,
ब्रम्हाण्ड नै हासिल सम्झि मै जान्ने नठान ।

राख स्वच्छ भावना र कामना मानव हितले,
दया करुणाको परिवेशमा मै जान्ने नठान ।

मान्छे एकै त हो प्राणी तर मै जान्ने नठान,
शक्ति सबैमा हुन्छ बलिया मै जान्ने नठान ।

साप्ताहिक सिर्जना (अंक-५ ) :गजल “तिमीलाई जिताउन...”

गजल

तिमीलाई जिताउन कैयौं बाजी हारेको छु
मेरो भागको खुसीहरू तिमीतिरै पारेको छु

कामना छ शिखर चुम्नू नहोस् कुनै बाधा अड्चन
तिम्रो लागि भर्याङ्ग थप्न आफूलाई झारेको छु

मुस्कुराउनू हिमालसरि उड्नु सधैं पवनसँग
तिम्रो ओंठमा मुस्कान हेर्न आफ्नो इच्छा मारेको छु

शिरमाथि आकाश झरोस् सहजसित थाम्न सक्छु
वाध्यताको डढेलोमा आफूलाई खारेको छु

सुखभन्दा दु:ख आफ्नो लाग्न थाल्यो जिन्दगीमा
घरबाट आफ्नो वास सडकतिर सारेको छु

पदमा लिंखा मगर
हाल: न्युयोर्क, अमेरिका

साप्ताहिक सिर्जना (अंक-४) :कविता “एउटा भिन्नै युद्ध ”

कविता

एउटा भिन्नै युद्ध

मानबजातिले ईतिहासमा थुप्रै युद्ध लडे
कहिले धनुष, भाला र तीरले लडे
कहिले खुकुरी, तरवार अनि बन्दुकले लडे
कहिले तोप, गोला र बारुदले लडे त
कहिले एटम बम, हाईड्रोजन र न्युक्लियेर बम ले लडे
यसरी मानबजातिले थुप्रै थुप्रै युद्ध लडे

आज मानबजातिले
एउटा भिन्नै युद्ध लडिरहेछ
आजको युद्धमा दुश्मन अदृश्य छ
विश्वको हरेक कुनामा युद्धको धावा बोलिरहेछ
कहाँ छ कसरि छ अनि कुन ठाउँमा छ देखिदैन
तर दुश्मनले हजारौं मानबलाई आक्रमण गरिरहेछ

Pages